काठमाडौँ- सरकारले समायोजन रोजेका ५९ हजार सात कर्मचारीलाई समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन महाशाखा प्रमुख केदार पनेरुले अहिलेसम्म ५९ हजार सात कर्मचारीलाई समायोजन गरिएको जानकारी दिएका हुन् ।
पनेरुका अनुसार संघीय तहमा ३८ हजार ५०९, प्रदेश तहमा नौ हजार ५६२ र स्थानीय तहमा नौ हजार ४५९ कर्मचारी र फाजिलमा एक हजार ४०७ कर्मचारीलाई समायोजन गरिएको छ ।
समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अब करीब १८ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका छन् । उनले स्वास्थ्य सेवा समूह, इञ्जिनीयर, वन समूहका कर्मचारी मात्र समायोजन गर्न बाँकी रहेको जानकारी दिए।
यसैगरी समायोजनमा सेवा समूह नमिलेका करीब एक हजार ३०० कर्मचारीलाई मिल्दो समूहमा समायोजन गर्नेसमेत उनले बताए । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । मन्त्रालयले ५६ सचिव र ६७६ सहसचिवमध्ये सङ्घमा ५७४ र प्रदेशमा १०२ समायोजन गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४