काठमाडौं- सरकारले २०७६ वैशाख १ गतेबाट शेयर बजार(दोस्रो बजार) मा एक पटकमा पाँच लाख वा सोभन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गर्ने भएको छ। बोर्डले लगानीकर्ता तथा सम्बद्धपक्षहरुसँग गरेको छलफलको सुझाब तथा निष्कर्श एवं अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयअनुसार उक्त अनिवार्य गरेको हो।
यसैबीच बोर्ड विगतमा घोषित कार्यक्रमभन्दा केही लचिलो देखिएको छ। सरकारको आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममा र बजेट कार्यान्वयन कार्ययोजनामा दोश्रो बजारमार्फत शेयर खरिद गर्दा लगानीकर्ताले प्यान लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने कार्यक्रम तय गरिएको थियो। सोअनुसर वैशाख १ गतेबाट शेयर बजारमार्फत शेयर खरीद गर्दा स्थायी लेखा नम्बर अनिवार्य गर्ने योजना रहेको थियो।
पाँच लाखभन्दा कम शेयर कारोबार गर्नेलाई ऐच्छिक
बोर्डले सम्बन्धीत सरोकार निकायहरुसँगको छलफलबाट एक पटकमा पाँच लाख रुपैयाँभन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा मात्रै प्यान लिन सक्ने व्यवस्था गरेको छ। उक्त निर्णयले शेयर बजारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहज रुपमा अगाडी बढ्ने समेत अपेक्षा गरिएको बोर्डको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४