काठमाडौं – सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा तथा सर्वसाधारणलाई आफूसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ। बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको जानकारी दिए।
बास्कोटाले स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे। सरकारले ३५ दिन भित्र अबैध हतियार बुझाउन आग्रह गरेको हो। सरकारले तोकेको समय भित्र अबैध हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुने प्रवक्ता बास्कोटाले जानकारी दिए।
सो समूहले आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। उनले वार्ताका लागि पटक पटक तयार भए पनि वार्तामा नआएको सो समूहका गतिविधिलाई सरकारले सूक्ष्मरुपमा अध्ययन गरी त्यसका आधारमा पार्टीलाई नभई समूहका हिंसात्मक र सङ्गठित प्रकारका आपराधिक र संविधानविरीतका गतिविधिलाई प्रतिबन्ध लगाइएको स्पष्ट गरे।
प्रमुख प्रतिपक्षी दलले पनि सरकारको यो निर्णयलाई स्वागत गरिसकेका अवस्थामा सत्तारुढ पार्टीभित्र यसबारे छलफल भएको र थप छलफल हुने पनि जानकारी दिए। बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४