काठमाडाैं –छात्राहरुको लागि मात्र पढाइ हुने काठमाडौंको पद्मकन्या क्याम्पसमा पुरुषलाई क्याम्पस प्रमुख बनाउने तयारी विरुद्ध विद्यार्थीले आन्दोलन सुरु गरेका छन्। महिला प्राध्यापकलाई पाखा लगाएर पुरुष क्याम्पस प्रमुख बनाउन लागेको भन्दै विद्यार्थीले आन्दोलन थालेपछि क्याम्पसको अध्ययन, अध्यापन प्रभावित बनेको छ।
पदमकन्या क्याम्पसमा सतप्रतिशत छात्रा अध्ययन गर्छन भने महिला प्राध्यापकको संख्यासमेत ५१ प्रतिशत बढी छ। त्यस्तै क्याम्पसका अन्य महिला कर्मचारीको संख्या करिब ७० प्रतिशत छ। क्याम्पस संचालक समितिले पुरुष प्राध्यापकलाई क्याम्पस प्रमुख बनाउन सिफारिस गरेसंगै विद्यार्थीहरु आन्दोलित बनेका हुन्।
कलेजको ३६ सदस्यीय संचालक समितिमा जम्मा ६ जना मात्र महिला सदस्य छन्। समितिले प्राध्यापक डाक्टर रेनुका जोशीको अवकाशपछि समितिको सिफारिसमा विश्वविद्यालयले घनप्रशाद पण्डितलाई तीन महिनाको लागि क्याम्पस प्रमुख नियुक्त गरेको थियो। पण्डितको तीन महिना अवधि सकिएसंगै पद्मकन्या क्याम्पस प्रमुख बिहिन बनेको छ। संचालक समितिले क्याम्पस प्रमुख नियुक्तिको लागि तीनजनाको नाम उपकुलपति कार्यालयमा पठाएको छ। जसमा, घनप्रशाद पहिलो नम्बरमा, क्याम्पसका लेक्चर सुरेश आचार्यलाई दोस्रो नम्बरमा सिफारिस गरिएकाे छ। एकमात्र महिला प्राध्यापक डाक्टर जया प्रधानलाई तेस्रो नम्बरमा सिफारिस गरिएकाे छ।
प्रधान होमसाईन्समा गोल्ड मेडल प्राप्त पद्मकन्याकी पूर्वविद्यार्थी हुन् भने विगत दुई दशकदेखि प्राध्यापनमा संलग्न छिन्। आन्दोलनरत विद्यार्थीले सिफारिसमा परेका पण्डित र आचार्य भन्दा प्रधान उत्कृष्ट तथा महिला पनि भएकोले उनैलाई क्याम्पस प्रमुखमा नियुक्त गर्नुपर्ने भन्दै आन्दोलन सुरु गरेका छन्।
आन्दोलनरत विद्यार्थी तुलसा पन्तले छात्राले मात्र पढ्ने पद्मकन्या क्याम्पसमा प्रमुख पनि महिला नै नियुक्त हुनुपर्ने आम विद्यार्थीको मागलाई विश्वविद्यालयले बेवास्ता गरेका कारण बाध्य भएर आन्दोलन गर्नुपरेको बताइन्। 'संविधानले राज्यका हरेक अंगमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गरेको छ। तर, नेपालको शैक्षिक जगतको सबैभन्दा ठुलो त्रिभुवन विश्वविद्यालयका ६१ आंगिक क्याम्पसमध्ये ६ वाहेक अन्य क्याम्पसमा महिला क्याम्पस प्रमुख छैनन्। विश्वविद्यालयले नै कानुनको उल्लङ्घन गर्न मिल्छ ?', पन्तले भनिन्,'अब हामी त्रिविका हरेक आंगिक क्याम्पसका प्रमुखसंगै पदाधिकारी पनि ३३ प्रतिशत महिला नियुक्त गर्न संम्बन्धित निकायलाई दबाब सिर्जना गर्छौ।”
पद्मकन्या क्याम्पसमा विद्यार्थीको आन्दोलनका कारण बुधबार तोकिएको परिक्षा केन्द्र अन्यत्र सारिएको छ भने शैक्षिक गतिविधिहरुसमेत प्रवाभित बनेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४