जनकपुरधाम - सरकारसँग ११ बुँदे सम्झौता गरेर जनकपुर फर्केका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत अहिले जनकपुरस्थित आफ्नो घरमा छन्। आइतबार जनकपुर विमानस्थलमा ओर्लेका राउतले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुनै प्रतिक्रिया दिएनन्।
विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरुले प्रतिक्रिया लिन खोज्दा उल्टै राउतका समर्थकहरुले दुर्व्यवहार नै गरे। जनकपुर पुगेको तीन दिन भइसक्दासमेत राउतले पत्रकारहरुलाई भेट्न मानेका छैनन्। पत्रकारमात्र नभई उनले आफ्ना कार्यकर्ताहरुसँगसमेत भेटघाट नगरेको बताइएको छ। स्वास्थ्य ठिक नरहेकोले आराम गरिरेहका राउतले तत्काल भेटघाटमा समय नदिएको उनका एक कार्यकर्ताले बताए। उनको स्वास्थ्य ठिक भइसकेपछि संगठनको केन्द्रीय समितिको बैठक बसेरमात्र सरकारसँग भएको सम्झौताबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।
यता, सरकारसँग ११ बुँदे सहमति गरेर जनकपुर फर्केका राउत मौन भएपछि कतिपय कार्यकताहरु नै अन्यौलमा देखिएका छन्। सम्झौता हुनुअघि राउतले आफ्नो फेसबुक पेजमार्फत सरकार जनमतसंग्रह गर्न तयार भएको उल्लेख गरेका थिए। त्यसलगत्तै सम्झौताको दोस्रो बुँदामा उल्लेख गरिएको ‘जनअभिमत’ भत्रे शब्दलाई उनका कार्यकर्ताहरुले जनमतसंग्रहकै रुपमा अथ्र्याएका थिए। तर, प्रधानमन्त्री र गृहमन्त्रीले जनमतसंग्रह गर्ने सहमति नभएको प्रष्टिकरण दिएपछि राउतका कार्यकर्ताहरु अन्यौलमा परेका छन्। सरकारसँग भएको सम्झौताबारे जात्र कार्यकर्ताहरुमा कौतुहलता रहेपनि राउतले अहिलेसम्म कसैलाई भेटेका छैनन्।
जनकपुरधाम–८ बलवाटोलस्थित आफ्नो निजी निवासमा आराम गरिरहेका राउतले सरकारले उपलब्ध गराएको सुरक्षाकर्मीसमेत फिर्ता गरेका छन्। जनकपुर विमानस्थल ओर्लिनुपूर्व जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको असई र प्रहरी जवानसहित दुई सुरक्षाकर्मीलाई राउतले आइतबारै फिर्ता पठाएका छन्। घरमा समेत छिर्न नपाएका दुईजना सुरक्षाकर्मीहरु अहिले छेउमै रहेको बलवाटोल प्रहरी चौकीमा बसेर उनको निगरानी गरिरहेका छन्। सरकारी सुरक्षाकर्मीले राउतको गतिविधि निगरानी गर्न सक्ने सशंयका कारण घरभित्र प्रवेश नदिइएको अनुमान गरिएको छ।
धनुषाका एसपी शेखर खनालले राज्यले खटाएको सुरक्षाकर्मीहरु राउतको घरमा नबसेको स्वीकार गरेका छन्। सरकारले खटाएको सुरक्षाकर्मीहरु नजिकै प्रहरी चौकीमा बसेर राउतमाथि निगरानी गरिरहेको उनको भनाइ छ। सरकारी सुरक्षाकर्मी फिर्ता भएपनि राउतको निजी सुरक्षा गार्डले सुरक्षा व्यवस्था हेर्दै आइरहेका छन्। २६ फागुनमा जनकपुर आउँदा विमानस्थलमासमेत राउतको निजी सुरक्षा दस्ता नै परिचालन भएको थियो। यसैगरी तीन तल्ले उनको घरको सबैभन्दा माथिल्लो तल्लामा बाहिरको गतिविधि निगरानी गर्न सीसीटीभी क्यामरा जडान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४