काठमाडौं - 'हामी मिटरमा सेवा दिन तयार छौँ। समय सान्दर्भिक मिटरको भाडा समायोजन गरियोस्। सरकार मैले २०७५ सालको मूल्यमा उपभोग्य वस्तु खरिद गर्नुपर्ने तर मैले सेवा दिँदचाहिँ २०६९ सालको मूल्यमा दिनुपर्ने, यो न्यायोचित हो ?'
अचेल राजधानीका सडकमा गुड्ने ट्याक्सीको पछाडि सिसामा यस्ता पर्चा देख्दा जोकोहीलाई पनि जिज्ञासा लाग्न सक्छ, ट्याक्सी चालक किन आन्दोलनमा छन् । विगतमा ट्याक्सीचालकले चक्काजाम गर्ने, मुख्य सडकमा ट्याक्सी रोकेर अवरोध गर्ने जस्ता गतिविधि गर्दै आए पनि अहिले भने शालीन रूपमा विरोध जनाएका छन्। यसलाई उनीहरूले मौन अभियान भनेका छन्। ट्याक्सी चालकका दुःख र व्यथा धेरै छन्। त्यही व्यथाको उपज हो, यो मौन अभियान। गत मंसिर १५ गते अभियान सुरु भएको हो।
यस्ता पर्चाले ट्याक्सी चालकहरूको पीडा चित्रित गर्छ। ट्याक्सी चालकले इच्छा लागे राख्दा वा नराख्दा पनि हुने उपत्यका स्वरोजार ट्याक्सी चालक व्यवस्थापन समितिका उपाध्यक्ष शम्भु कुँवरले बताए। 'अभियान हामीले निकै शान्त र मौन रूपमा गरेका छौं। आक्रामक रूपमा प्रस्तुत हुँदा मर्का पर्ने आमनेपाली जनतालाई जो हो। हाम्रो माग सरकारसँग हो’, उपत्यका स्वरोजार ट्याक्सीचालक व्यवस्थापन समितिका महासचिव पूर्ण तामाङले बताए।
एक वर्षअघि मनोहरा किनारमा ट्याक्सीचालक यज्ञबहादुर खड्काको हत्या भएको थियो। सोही स्थानमा गत कात्तिक २४ गते भरत मल्लमाथि हमला भएको थियो। त्यस्तै गत पुस १ गते डम्बर खड्कालाई ललितपुरस्थित पुलचोकबाट बालकुमारी किनारामा लगेर कुटपिट गरी गम्भीर घाइते गराइएको थियो। ट्याक्सी चालकले यस्ता सांघातिक हमला भोग्दै आएका छन्। प्रशासनलाई पटकपटक ध्यानाकृष्ट गराउँदा पनि ट्याक्सी चालकलाई सुरक्षा प्रदान गर्न नसकेको गुनासो महासचिव तामाङको छ। उनले भने, ‘राज्य संयन्त्रले सुविधा त दिएन, सुरक्षामा समेत समस्या छ।’
'भाडा समायोजन हुन नसक्दाको पीडा एकातर्फ छ भने अर्कोतर्फ सुरक्षा चुनौती। ‘आफ्नो अधिकार र सुरक्षाका लागि आफैं लाग्नुपर्ने रहेछ। त्यसैले यो अभियान सुरु गरेका हौं’, उपाध्यक्ष कुँवरले भने।
भाडादर अवैज्ञानिक
२०६९ सालमा सरकार र ट्याक्सी चालकबीच सहमति भई भाडादर कायम भएको थियो। त्यतिबेला प्रतिकिलोमिटर ३२ रुपैयाँबाट ५ रुपैयाँ बढाएर ३७ रुपैयाँ भाडा कायम गरिएको थियो। मिटरमा फ्ल्याट रकम १४ रुपैयाँ निर्धारण गरिएको थियो। ट्याक्सी व्यवसायीले २०७२ सालमा पेट्रोलियम पदार्थमा मूल्य घटेपछि भने १ रुपैयाँ घटाएका थिए। गत दसैंमा अन्य सार्वजनिक यातायातले १० प्रतिशत बढाएका थिए। तर आफूहरूसँग छलफल नै नगरी यातायात व्यवस्था विभागले एकलौटी निर्णय गरेको आरोप व्यवसायीको छ। दैनिक उपभोग्य वस्तु र गाडीका पार्टपुर्जामा भाउ बढ्दा पनि आफूहरूले सात वर्षअघिकै दरमा सेवा दिनुपरिरहेको गुनासो व्यवसायीको छ।
कस्तो छ मिटरको व्यवस्था ?
मिटर व्यवस्थामा फ्ल्याट मूल्य १४ रुपैयाँ ८० पैसा छ। जुन २०६९ मा तोकिएको थियो। मिटरको काउन्टमा एक किलोमिटरको ४९ रुपैयाँ हुन्छ। मिटरमा एक कल बराबर दुई सय मिटर कभर गर्छ। त्यसपछि प्रति कल सात रुपैयाँ ८० पैसा पर्न आउँछ। उपाध्यक्ष कुँवरले भने, ‘वैज्ञानिक भाडादर कायम गर्ने हो भने हामी मिटरमा जान तयार छौं।’ २०६९ देखि हालसम्मको मूल्यवृद्धिलाई मनन गर्दै किलोमिटर तथा मिटरमा वैज्ञानिक भाडादरको कायम गर्नुपर्ने माग व्यवसायीको छ। ‘६ वर्षसम्म वैज्ञानिक भाडादरबारे केही हुन नसकेको सूर्यविनायकमा भेटिएका एक ट्याक्सी चालकले बताए।
यातायात व्यवस्थापन विभागका सूचना अधिकारी गोकर्ण विष्टका अनुसार गत दसैंतिहारअघि पेट्रोलमा मूल्य बढेपछि भाडा बढाइएको हो। त्यहींबाट भाडा समायोजन भएको दाबी उनको छ। उनले भने, ‘भाडादर वैज्ञानिक छ तर उहाँहरूको समस्यामा केही सम्बोधन हुनमात्र नसकेको हो।’ व्यवसायीका मागप्रति विभाग सकारात्मक रहेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४