जनकपुरधाम - अलग मधेश राज्यको माग गर्दै अभियान चलाएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सिके राउत अहिले जनकपुरमा छन्। शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेर राउत आइतबार जनकपुर फर्केका हुन्।
पाँच महिनाको हिरासतपछि रिहाइ र त्यस लगत्तै नाटकीय हिसाबले सरकारसँग भएको सहमतिपछि जनकपुर फर्केका राउत जनकपुरधाम–८ स्थित आफ्नो घरमा आराम गरिरहेका उनी निकट स्रोतले बताएको छ। ‘आइतबार जनकपुर फर्केपछि उहाँले कसैसँग भेटघाट गर्नुभएको छैन,’ स्रोतले भन्यो, ‘स्वास्थ्यमा केही समस्या भएर घरमा आराममा हुनुहुन्छ।’ जरुरी परेको बेला राउतले फोनबाट कार्यकर्ताहरुसँग कुरा गरिरहेको उनले जनाए। ‘अहिले भेटघाट नगर्ने निर्देशन नै आएको छ,’ स्रोतले भन्यो। स्वास्थ्य समस्याका कारण आराममा रहेकाले २/४ दिनसम्म राउतको कुनै राजनीतिक कार्यक्रम तय नभएको बताइएको छ।
आइतबार जनकपुर विमानस्थलमा राउतलाई स्वागत गर्न ठुलो संख्यामा उनका समर्थकहरु विमानस्थल पुगेका थिए। समर्थकहरुकासाथ नगरपरिक्रमामा सहभागी भएका राउत आइतबार साँझदेखि घरमा आराम गरिरहेका छन्।
के भन्छ राजपा ?
सरकारसँग ११ बुँदै सम्झौतापश्चात मधेशमा डा.राउतप्रतिको आकर्षण घटेको राजपाको भनाइ छ। राजपाका प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साहले देश टुक्र्याउने कुरा गरेर जनताको आँखामा धुलो झोक्ने काम भएको बताए। राउत केहीदिन तरंगमा रहेपनि उनी राज्यबाट सञ्चालित व्यक्ति रहेको विस्तारै जनतालेसमेत थाहा पाउने साहको दाबी छ। जनतालाई भुल्याउन स्वतन्त्र मधेशको मुद्दा उठाएपनि अहिले राज्यसमक्ष राउतले समर्पण गरेको साहले बताए। राउतको अवतरणपछि राजपालाई कुनै असर नपर्ने उनको दाबी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४