काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले सीके राउतले सरकारसँग गरेको सहमति उल्लंघन गरेको विषयलाई प्राथमिकतामा पारेका छन् ।
काठमाडौंमा सरकारसँग सहमति गरेको दुई दिनपछि जनकपुर झरेका राउतले स्वतन्त्र मधेसकै गतिविधिमा सक्रियता बढाएपछि सरकार झस्किएको छ । मूलधारको राजनीतिमा प्रवेश गरेपछि आइतबार जनकपुर विमानस्थल पुगेका उनका समर्थकले स्वतन्त्र मधेसको नारा लगाएका थिए। कार्यकर्ताहरू ‘नेपाली उपनिवेश मुर्दाबाद, मधेस देश लेके रहेंगे, स्वतन्त्र मधेस गठबन्धन जिन्दावाद’ लगायतका नारा लगाएका थिए।
राउतलाई सुरक्षा दिन उनका कार्यकर्ताले दस्ता खटाएका थिए। राउतको निजी सुरक्षा दस्तामा रहेका ८ कार्यकर्ता कालो ज्याकेट, टाउकोमा रातो फेटा, मुखमा कालो मास्क, आँखामा कालो चस्मा र स्वतन्त्र मधेस गठबन्धन लेखिएको झन्डा लिई विमानस्थलमा उभिएका थिए।
यस्तै संसदमा पनि सांसद्हरुले जनमत संग्रह सरकारले स्विकार गरेको सीके राउतले दावी गरेपछि चर्को विरोध गरेका छन् । यसको जवाफमा गृहमन्त्री रामबहादुर थापाले जनअभिमतको अर्थ जनमतसंग्रह नहुने भन्दै धोका दिन खोजे उनी आफै सकिने बताएका थिए ।
यसैविषयलाई मुख्य समाचार बनाउँदै आजको अन्नपूर्ण पोस्ट्ले सीकेद्वारा सहमति उल्लंघन शीर्षकमा समाचार लेखेको छ भने नयाँ पत्रिकाले सीके राउतसँग झस्कियो सरकार शीर्षकमा खबर छापेको छ । कान्तिपुरले सहमती विपरित र्याली र धोका दिने सिद्धिन्छ शीर्षकमा मुख्य खबर लेखेको छ ।
नागरिक दैनिकले भने सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको खुलासा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा मुलुक विखण्डनको अजेन्डा छाडेर मूल धारको राजनीतिमा आएका राउतलाई दुई वर्ष्भित्र राष्ट्रियसभा सदस्य बनाउने भित्री सहमति भएको प्रधानमन्त्री निकट स्रोतलाई उदृत गर्दै नागरिकले लेखेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीले राउतमा भएको बौद्धिक क्षमता देश हितमा लगाउन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीको प्रस्तावमा मौन समर्थन जनाएका राउतले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारालाई साथ दिन आफू तयार रहेको प्रतिबद्धतासमेत जनाएका छन् । प्रधानमन्त्री ओली आवश्यक परे राउतलाई मन्त्री बनाउन पनि तयार रहेको समाचारमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४