आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'विप्लव' को गाउँमा पक्राउ परेका दुर्गालाई चौकीमा गोली हानेको आरोप

'विप्लव' को गाउँमा पक्राउ परेका दुर्गालाई चौकीमा गोली हानेको आरोप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा - गत बिहीबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ मा एकाबिहानै खोजी अप्रेशन गरेको जानकारी दियो। उक्त घटनाले केही बेरमै सनसनी मच्चायाे। प्रहरीले 'विप्लप' को गाउँमा छापा मारेर ठूलो संख्यामा हातहतियार र एक जना नेकपाका नेता समेत पक्राउ परेको बतायो। प्रहरीले साेही दिन दिउँसो प्रेस विज्ञप्ती नै निकालेर नेकपाका नेता दुर्गाबहादुर रोक्का भाग्न खोज्ने क्रममा गोली चलाउँदा घाइते भएको र पक्राउ गरी उपचारकालागि लुम्बिनी अञ्चल अस्पताल पठाएको जानकारी दियो।

यो घटनाले सबै स्तब्ध भए। तर, उक्त घटनाको विषयमा सोधपुछ गर्दा प्रहरीले उक्त कार्य नाटकीय ढंगले गरेको देखिन्छ। प्रहरीले रोक्कालाई ईलाका प्रहरी कार्यालय भित्र लगेर गोली हानेको आरोप स्थानीय र उनको परिवारले लगाएका छन्। प्रहरीले रोक्काको घरबाट एसएमजी दुई नाल, म्याग्जिन ३ थान, म्याग्जिनको गोली ३ राउन्ड, ६८ राउन्ड गोली, चाइनिज पेस्तोल १ थान , ‘एम यट’ को  १२९ राउन्ड गोली, वाइरिङ् तार र रिमोटसमेत बरामद भएको बताएको थियो।

केही सञ्चारकर्मी र मानवअधिकारवादीहरु रोक्काको घरमा पुग्दा उनका छिमेकीहरुले प्रहरीले रोक्कालाई घरबाटै सामान्य अवस्थामा पक्रेर लगेको बताए। उनकी ३५ वर्षीय श्रीमती बसन्ती घर्ती भन्छिन्, ‘एकाबिहानै ढोका ढक्ढकायो। खोलेर हेर्दा प्रहरी रहेछ। उसले श्रीमानको नाम सोध्यो मैले बताइदिए। अनि तुरुन्त पक्रेर लग्यो। उहाँ भाग्नु भएको थिएन।’

श्रीमती, १५ वर्षीय छोरा र १२ वर्षीय छोरीकासाथ ७ वर्ष अघि प्युठान जिल्लाको गौमूखी गाउँपालिका वडा नं ४ पूजा टिन्टबीसौनादेखि बसाईसरी तराई झरेका उनी २ वर्षदेखि घर बनाउने मजदुरको काम गर्दै आएका उनका छिमेकी चिन्ताबहादुर घर्ती बताउँछन्। चिन्ताबहादुर भन्छन्, ‘बिहानै उठेर घर बनाउन जाने साँझ सिधै घर फर्किएर आउने मान्छे कसरी विप्लपको नेता भए? कसरी उनको घरबाट हतियार भेटियो? प्रहरीले सरासर फसाउन खोज्यो।’

यतिबेला उक्त गाउँमा त्राससहितको आक्रोस छ। प्रहरीले गरेको अत्याचारको विषयमा बोलेमा फेरि आफूहरुलाई फसाउँदै पक्रेर लैजान्छ की भन्ने डरले रातभरी कोही सुत्न नसकेका अर्का एक छिमेकीले बताए। धेरैले उक्त घटना नियोजित ढंगले भएको बताइरहँदा आफ्नो नाम भने बताउन चाहेनन्। नाम बताउँदा प्रहरीले फसाउने डरले उनीहरु यसबारे प्रष्ट रुपमा बाेल्न खाेज्दैनन्। दुर्गालाई प्रहरीले पक्रेर लगेर गएको र चौकीमा लगेर गोली हानेको आरोप उनीहरु लगाउँछन्।

यता, दुर्गाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भएको प्रहरीले बताए पनि कसैलाई भेट्न जान दिएको छैन। मानवअधिकारवादी संघसंस्थालाईसमेत उनीसँग भेट गर्न नदिइएको मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले बताए। उनले भने , ‘प्रहरीले घाइतेलाई भेट्न र अवस्था बुझ्नकोलागि अधिकारकर्मीहरुलाईसमेत जान दिएको छैन। यो गलत हो।’ यतिबेला रोक्कालाई लुम्बिनी अञ्चल अस्पतालमा राखेको बताइएको छ। तर, उनको पछिल्लो स्वास्थ्य अवस्था के छ ? भनेर कसैलाई जानकारी दिइएको छैन।

यतिबेला सरकार र विप्लपबीच टकराव चलिरहँदा प्रहरीले सामान्य मजदुरलाई किन निशाना बनायो? घर बनाउने मिस्त्री जसको दैनिक मजदुरीले उनीसहित ४ जनाको परिवारले बिहान बेलुकाको छाक टार्थ्याे उनलाई बिहानै घरबाट पक्राउ गरेर किन गोली हानियो? प्रहरीले रोक्का नेकपाको नेता भएको पुष्टि गर्न सकेन भने के होला?  कपिलबस्तुमा ठूलो सफलता प्राप्त गरियो भनेको प्रहरीको कारबाही नाटकीय बनाउनु के बाध्यता थियो? सशस्त्र प्रहरी र नेपाल प्रहरीको १ सय ६८ जनाको संयुक्त टोलीले विप्लपको गाउँमा छापा मारिरहँदा उक्त गाउँमा बस्ने सबै के विप्लपको पार्टीका नेता भएको पुष्टी हुन्छ? भनी स्थानीयले प्रहरीसमक्ष प्रश्न गरिरहेका छन्। यो घटनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादीले सुक्ष्म ढंगले अध्ययन गर्नुपर्ने स्थानीयको माग छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।