आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अन्तर्राष्ट्रिय औद्योगिक मेलामा १० करोड बढीको कारोबार

अन्तर्राष्ट्रिय औद्योगिक मेलामा १० करोड बढीको कारोबार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीमा सञ्चालन भइरहेको १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७५ शनिबारसम्म १० करोड बढी रुपियाँ बराबरको कारोबार भएको छ। साथै एक लाख ८७ हजारले अवलोकन गरेको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा बिहीबारदेखि भृकुटीमण्डपमा महोत्सव शुरु भएको हो। उक्त दिन २० हजारले अवलोकन गरेको तथा सवा करोड रुपैयाँको कारोबार भएको जानकारी आयोजकले दिएको छ।

आयोजकका अनुसार शुक्रबार ५० हजारले अवलोकन गरेको तथा चार करोड रुपियाँको कारोबार भएको छ। शनिबार एक लाख १७ हजारले अवलोकन गरेको र छ करोड रुपियाँ बराबरको कारोबार भएको छ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले सञ्चालित उक्त महोत्वसव मंगलबारसम्म चल्ने जनाइएको छ। महोत्सवको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको छ।

महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार औपचारिक रुपमा उद्घाटन गरेका थिइन्। शनिबारसम्ममा महोत्सवमा प्रतिनिधि सभा उपसभामुख शिवमाया तुम्बहाम्के, राष्ट्रियसभा तथा प्रतिनिधि सभाका सांसद, पूर्व मन्त्री, पूर्वप्रधान सेनापति, सरकारी तथा गैरसरकारी निकायका जिम्मेवार व्यक्तित्व लगायतले अवलोकन गरेका आयोजकले जानकारी दिएको छ।

महोत्सवमा २०५ स्टल रहेका छन्। उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी छन्। साथै चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल राखिएका छन्। पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोड रुपैयाँको कारोबार हुने आयोजकले अपेक्षा गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्