आइतबार, साउन १७, २०८३

सरकारको नजरमा विप्लव अपराधिक समुह !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

कान्तिपुर दैनिकले गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहलाई राजनीतिक व्यवहार नगर्नु भनी सुरक्षाअधिकारीहरुलाई निर्देशन दिएको विषयलाई मुख्य समाचार बनाएको छ।

कानुनविपरित आतंक मच्चाउने र जनता तर्साउनेलाई अपराधिक समुह सरह व्यवहार गर्न गृहमन्त्रीले तीनै सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । सुर्खेतमा भएको कर्णाली प्रदेशस्तरीय गोष्ठीमा गृहमन्त्री थापाले संविधान र कानुन मान्दिन भन्ने समुहलाई राजनीतिक शक्तिका रुपमा स्विकार्न नसकिने बताएको समाचारमा उल्लेख छ ।

यस्तै कान्तिपुरले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक ब्यक्तिलाई एकै व्यक्ति भनेर आदेश गरेको खुलासा गरेको छ । न्यायाधीशहरु कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीको एजलासले फरक फरक ब्यक्ति रहेका नन्दकुमारी थापा र रनकुमारी थापा एउटै ब्यक्ति भनी किटानी गरिदिएको समाचारमा जनाइएको छ ।

आजको नागरिक दैनिकले भने १४ करोडका कारगेड वाइक किन्दै सरकार शीर्षकमा मुख्य समाचार छापेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कारगेडका लागि सरकारले ३० वटा मोटरसाइकल खरिद गर्न १४ करोड रुपैयाँ निकासा गरिसकेको समचारमा जनाइएको छ । अतिविशिष्ट पदाधिकारी (भिभिआइपी) का लागि मात्रै प्रयोग हुने गरी करिब १४ करोड रुपैयाँ मूल्यका कारगेड मोटरसाइकल खरिद प्रक्रिया अघि बढिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

२०७५ असोज १४ गते महंगा कारगेड मोटरसाइकल किन्ने निर्णय गरेकोे सरकारले यसलाई गुपचुप राखेको थियो। अर्थमन्त्रालयले बजेट निकासा गरेपछि मात्रै भिभिआइपी/भिआइपीको सुरक्षा र सुविधासम्बन्धी निर्णय एकपछि अर्को गरी सार्वजनिक भएका हुन्। कारगेड मोटरसाइकल किन्न अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयका नाममा बजेट निकासा गरिसकेको छ। प्रहरीका अनुसार यी मोटरसाइकल २०७६ असारसम्म काठमाडौं आइपुग्ने समाचारमा उल्लेख छ ।  
 
यस्तै नागरिकले सरकार–राउत सहमति व्यख्या आआफ्नै शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ।

स्वतन्त्र मधेस मागसहित आन्दोलनरत सिके (चन्द्रकान्त) राउत र सरकारबीच ११ बुँदे सहमति भएको २४ घन्टा पनि बित्न नपाउँदै स्वतन्त्र मधेसको मुद्दालाई लिएर दुवै पक्षले आआफ्नै किसिमले व्याख्या–विश्लेषण गर्न थालेका छन्। 

सहमतिले विखण्डनको मुद्दा समाप्त भएको सरकारको दाबी छ । तर राउत समूहले भने त्यसलाई अस्वीकार गर्दै सरकार स्वतन्त्र मधेसका विषयमा जनमतसंग्रह गर्न सहमत भएको जिकिर गरेको नागरिकले लेखेको छ। 

आजको अन्नपूर्ण पोस्ट्ले ज्यानमारा धुलो शीर्षकमा राजधानीका सडकहरुको अवस्था चित्रित गर्दै खबर लेखेको छ। सवारी साधन र अब्यवस्थित निर्माणकै कारण धुलोको अवस्था भयावह हुँदै गएको समाचारमा उल्लेख छ । राजधानीमा दूषित हावाले सीमा नाघेको छ भने धुलोका कारण नाक, कान, घाँटीका रोगी बढ्दै गएका छन् । 

यस्तै विदेशी मुद्रा स्रोत घट्दै गएको विषयलाई पनि अन्नपूर्ण पोस्ट्ले प्राथमिकताका साथ छापेको छ। सरकारले यस आर्थिक वर्षको बजेटमार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको हो । वैदेशिक ऋण र अनुदान क्रमशः ३५.६ र ३२ प्रतिशतले घट्ने अनुमान अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेका थिए ।

आजको नयाँ पत्रिकाले भने सुई र रुईसमेत नभएका अस्पताल शीर्षकमा नेपालका सरकारी अस्पतालहरुको हरिविजागको अवस्थालाई मुख्य समाचार बनाएको छ । गुल्मी जिल्ला अस्पताल एक वर्षदेखि एम्बुलेन्सबिहीन छ भने पाल्पा जिल्ला अस्पतालमा टिटानसको सुईसमेत नभएको समाचारमा उल्लेख छ । 

यस्तै नयाँ पत्रिकाले बिहार सरकारको विरोधपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इपिजी बैठकको प्रतिवेदन नबुझेको र प्रदेश नम्बर २ ले प्रमुख जिल्ला अधिकारीको समानान्तर जिल्ला प्रशासन अधिकारी राख्ने तयारी गरेको विषयलाई पनि महत्वका साथ छापेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।