सात सय वर्गफिट जग्गामा बाँसले बारेर बनाइएका ‘ट्रस्ट’। मानसिक अवस्था ठिक नभएका महिला र बलात्कारबाट जन्मिएका बालबालिकाको बसोबास छ त्यहाँ। तीमध्ये एक महिला, जसको मानसिक स्थिति ठिक छैन। गर्भमा सात महिनाको शिशु छ। उनको चीत्कारले जोकसैलाई झसंग पार्छ। उनी फोहोरको डंगुरबाट उद्धार गरेर त्यहाँ पुर्याइएकी हुन् । बलात्कारबाट गर्भवती भएकी ती महिलालाई बलात्कारको अर्थ थाहा छैन। उनले भनिन्, ‘मलाई नराम्ररी छोए तिनीहरूले। नचला नचला भन्दै थिएँ।’
उमेरले करिब ६०/६५ नाघेकी आमा नेपाल स्नेही काखकी अर्की बिरामी हुन्। उनी आफूलाई कुनै समयकी नृत्यांगना र टेलिफिल्मकी कलाकार रहेको दाबी गर्छिन्। उद्धारको समयमा उनी हिँड्न नसक्ने अवस्थामा थिइन्। अहिले उनी पूर्ण रूपमा हिँड्न मात्र होइन, भजन गाउने पनि गर्छिन् । त्यसै अर्की आमा जो अर्धनग्न थिइन्। उनको शरीरमा कपडाको नाममा पुरुषका भित्री वस्त्रमात्र थिए। उद्धारका क्रममा उनको शरीरका धेरै ठाउँमा दाँत गाडेका चोट थिए। आफू पटकपटक बलात्कारको सिकार भएको उनको दुःखेसो छ। बलात्कारको अर्थ नजानेकी उनले विगतका ती नारकीय क्षण सम्झँदै भनिन्, ‘मलाई स्वास्नी बनाए तिनीहरूले, मलाई छोडिदेओ नचलाओ भन्दा अनुहारमा मुक्का हान्थे।’
यी सबै बिरामीको आश्रयदाता बनेकी छन् श्रीनेहा पोखरेल (२५)। यिनै असहायलाई आश्रय दिन उनले नेपाल स्नेही काख नामक संस्था स्थापना गरेर समाजसेवा गरिरहेकी छन्। श्रीनेहा कक्षा १० मा पढ्दै थिइन्। एसएलसीको तयारीमा रहेकी उनी एक दिन स्कुलबाट फर्कंदा फोहोरको डंगुरमा प्यान्टमात्र लगाएको मानिसलाई देखिन्। ती व्यक्ति फोहोर पानी पिउँदै थिए। श्रीनेहाले पानी किनेर दिइन्। श्रीनेहाले ती व्यक्तिलाई दैनिक केही न केही लगिदिन थालिन्। एक दिन उनले ‘तपाईंलाई के खान मन छ?’ भनेर सोध्दा ती व्यक्तिलाई भात खान इच्छा भएको बताए। उनले भात पकाएर त लगिन्। तर ती व्यक्ति हात धुन सक्ने स्थितिमा रहेनछन्। उनी आफैंले हात धोइदिइन्। हात धोइदिँदा ती व्यक्तिको आँखाबाट तपतप आँसु खसेको थियो। त्यसपछि श्रीनेहाले जसरी पनि ती व्यक्तिलाई समाजमा पुनःस्थापित गर्ने अठोट गरिन्। यसरी सन् २०१० मा जन्म्यो नेपाल स्नेही काख। नेपाल स्नेही काख सडक, फोहोरका डंगुरमा भेटिएका असहाय व्यक्ति, महिला, बालबालिकाको आश्रयस्थल बनेको छ। पोखरेलले भनिन्, ‘हामीले अर्धनग्न, फोहोरको थुप्रोमा बसिरहेका, डस्टबिनमा भेटिएका नाबालक र बाटोमै बच्चा जन्माइरहेका महिलालाई आश्रय दियौं।’
यस्तो थियो थालनी
श्रीनेहाले सुरुमा त्यस्ता व्यक्तिलाई बाटोमा बस्न नदिने अठोट गरिन्। तर यस्ता मानिसका लागि कुनै व्यक्तिभन्दा संस्था उपयुक्त हुनुपर्ने सोचाइ उनमा आयो। आरम्भ गरेको कामलाई पूर्णता दिनु थियो। उनलाई बिस्तारै अन्य व्यक्तिले पनि साथ दिए। सातआठजनालाई भेला गरेर होस्टलमा राखियो। श्रीनेहालाई सहयोग गर्नेमा रमिला पोखरेल र केशवप्रसाद रिमाल थिए। उनीहरूले आफ्नो व्यक्तिगत कमाइ खर्च गरेर त्यस्ता व्यक्तिहरूको स्याहार गर्न थाले। न कुनै दाताको सहयोग न कुनै एनजिओको साथ, व्यक्तिगत खर्चमा औषधि उपचार हुने नसकेपछि आर्थिक चाप बढ्न थाल्यो।
श्रीनेहाले भनिन्, ‘आर्थिक अभावमा छौं अझै पनि। औषधि उपचार, गाँसबास र कपासको व्यवस्था गर्ने निकै गाह्रो भयो। पैसा नहुँदा आफ्नै मोबाइल बेचेकी थिइन् श्रीनेहाले। उनले भनिन्, ‘त्यसपछि हामीले सानो स्ट्रिट फुड स्टल खोल्यौं। मम बच्न थाल्यौं। त्यसबाट आएको रकमले बिरामीका लागि औषधिउपचार र खानाको व्यवस्थामा केही राहत पुग्यो।’ चिनेजानेका रंगकर्मी साथीहरूले टिकट बेचेको रकमबाट पनि सहयोग गरे। संस्थाकै बोर्डका सदस्यहरूले आफ्नो निजी जागिरबाट आएको तलबको केही हिस्साबाट चल्दै आएको छ। धेरै पटक घरमा पनि पैसा मागेको उनले सुनाइन्। घरबाट माग्दा माग्दा आफैलाई अप्ठ्यारो लाग्न थालेको थियो उनलाई। उनले भनिन्, ‘तर बिरामीको औषधिउपचारमा सम्झौता गर्न सकिँदैन र गर्ने पनि गरिएन।’ आफ्नो अभियानमा साथीभाइले पनि सहयोग गरेको उनले बताइन्।
एकपटक भात खान पर्याप्त चामल नभएकाले बिरामीलाई जाउलो खान सम्झाउँदै थिइन् उनी। उनले भनिन्, ‘गेटमा ‘बेल’ बज्यो। कसैले एक बोरा चामल गेटमा राखिदिएको थियो। राख्ने व्यक्ति थाहा भएन। अहिले जो कोही देख्दा पनि चामलको बोरा ल्याइदिने व्यक्ति तिनै हुन् कि जस्तो लाग्छ।’ उद्धार गरेर ल्याइएका बिरामी आपसमा कुटाकुट गर्थे। जथाभाबी दिसापिसाब गर्थे। उनले भनिन्, ‘अहिले हामीजस्तै सामान्य काम गर्न सक्ने हुनुभएको छ उहाँहरू।’ मानसिक बिरामीले मुडअनुसारको व्यवहार गर्ने श्रीनेहाले बताइन्।
नेपाल स्नेही काखले अहिलेसम्म एक सयजनालाई उद्धार गरी आश्रय दिएको छ। जसमध्ये ३० जनालाई सकुशल घर पठाएको उनले बताइन्। श्रीनेहालाई यो क्षण खुसी र दुःख लाग्ने गरेको छ। उनले भनिन्, ‘खुसी उहाँहरूले परिवार पाउनुभयो त दुःख हामीले पायौं।’ सन्तान जसरी नै स्याहार र केयर गरेका कारण टाढा हुँदा नरमाइलो लाग्ने गरेकाे छ उनलाई।
श्रीनेहालाई सुरुमा परिवारको समर्थन थिएन। मिडियामा उनका गतिविधि सार्वजनिक हुन थालेपछि बिस्तारै केही सहयोग आउन थालेको उनले बताइन्। उनले १५/१६ वर्षको कच्चा उमेरमा यति ठूलो कदम चालेकी हुन्। राम्रो काम गर्न उमेरले छेक्दैन। कुनै तालिमभन्दा पनि मानवसेवाबारे परामर्श लिएर श्रीनेहाले यस्तो कार्यको थालनी गरेकी हुन्। कहिलेकाहीं मानसिक सन्तुलन नभएका बिरामीले पनि एकले अर्कोलाई सहयोग गरेको देख्दा श्रीनेहालाई अचम्म लाग्छ। उनले भनिन्, ‘हाम्रो वातावरणले पनि हो कि वा चमत्कार हो ठम्याउनै गाह्रो हुन्छ।’ उनको संस्थामा अहिले ४८ बिरामी छन्। श्रीनेहको दैनिकी तिनै सदस्यसँग माया, स्नेह र स्याहार गरेर बित्दैछ।
मानसिक सन्तुलन गुमाएका बिरामीको आश्रय दिने ठाउँ नहुँदा समस्या पर्ने उनी बताउँछिन्। भाडामै तिरेर संस्था चलाउँछु भन्दा पनि जग्गा दिने कोही छैन्न। उनले भनिन्, ‘खोजी जारी छ, आशा गरौँ मेरोजस्तै मन भएको कोही होलान्।’ अनुराधा कोइराला, दिल शोभा, पुष्पा बस्नेतलाई आफ्नो आदर्श मान्ने श्रीनेहा महिला प्रकृतिको सुन्दर रचना मान्छिन्। माया, प्रेम, स्याहार, दया, साहसको प्रतिमूर्ति महिलामा सबै कुराको मिश्रण पाइने उनको भनाइ छ। महिलालाई कमजोर मानिने नेपाली समाजमा श्रीनेहा दयाकी उदाहरणीय पात्र बनेकी छन्।