रवीन्द्र अधिकारी दाइसँग मेरो ०५२ सालताका भेट भएको हो। त्यतिबेला उहाँ अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो। म आरआर क्याम्पसको स्ववियु सचिव थिएँ। त्यस्तै उहाँ पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुनुहुन्थ्यो। त्यसैले हाम्रो सम्बन्ध बाक्लो भएको थियो।
अखिलमा भ्याली केन्द्रित नेतृत्व बनाउने प्रचलन पुरानै थियो। उहाँ मोफसलबाट आए पनि विद्यार्थीमा प्रभाव कायम राख्न सफल हुनुभयो। त्यसको प्रभावले होला उहाँ त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति बन्न सफल हुनुभयो। म आरआर क्याम्पसको स्ववियु सभापति भएँ। अखिलका नेताको हिसाबमा उहाँ र मेरो सम्बन्ध नजिक हुनु स्वाभाविक थियो।। विद्यार्थी आन्दोलनमा उहाँले राम्रो स्थान बनाउनुभएको थियो। दुर्भाग्यबस ! पार्टी विभाजन भयो।
अनेरास्ववियुमा पनि विभाजन आयो। हामी दुई किनारामा भयाैं। म एमालेको विद्यार्थी संगठनमा र उहाँ मालेको विद्यार्थी संगठनमा रहनुभयो। त्यसबेलाको परिस्थितिलाई फर्केर हेर्दा योगेश भट्टराई र रवीन्द्र अधिकारी दुवै स्थापित नाम थिए। तर उपत्यका र बाहिर नेकपा माले निकट विद्यार्थीको प्रभाव राम्रो देखिन्थ्यो। यसको धेरै कारण थिए होलान्। तर मुख्य कारणचाहिँ योगेश भट्टराई र रवीन्द्र अधिकारीको नेतृत्व थियो। पछिल्लो अवधिमा उहाँहरुले जुन एजेन्डा अगाडि सार्नुभयो, त्यो नेपाली राजनीतिमा राम्रो विषय बन्यो। विशेषगरी राष्ट्रियताका सबालमा कालापानी पुगेर मार्चपास गर्नुभयो । त्यसले नेपाली राजनीतिमा एक खालको तरंग ल्याएको थियो।

प्रवीण गुरुङको हत्या विरोधमा रवीन्द्र अधिकारी नेतृत्वको अखिलले जसरी आन्दोलन सञ्चालन गर्यो, त्यसले नेपाली युवामा गणतन्त्रप्रति ठूलो प्रभाव छाड्न सफल भयोे। तत्कालीन राजा ज्ञानेन्द्रका छोरा पारस शाहको ज्यादतीको विरोधमा उहाँहरुको नेतृत्वमा जुन अभियान सञ्चालन भयो। त्यसले गणतन्त्रको चेतनालाई ह्वात्तै बढायो। त्यसैगरी विद्यार्थीद्वारा विद्यार्थीका लागि भन्ने अभियान सञ्चालन गरेर सार्वजनिक यातायातमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियत गर्ने कुरालाई निष्कर्षमा पुर्याउन उहाँले निर्वाह गरेको भूमिका उल्लेख्य छ।
उहाँसँग मैले अविस्मरणीय क्षण पनि बिताएको छु। जुन बेला उहाँ प्रमुख अतिथि भएर आरआर क्याम्पसाम आउनुभएको थियो। त्यसबेला मैला थाहा पाएँ, उहाँ मानिसको अन्तरनिहित क्षमता चिन्न निकै कुशल हुनुहुँदो रहेछ। म अखिलको सामान्य कार्यकर्ता थिएँ। उहाँंले भन्नुभएको थियो, ‘यज्ञराज सांसद हुन्छ, लोकप्रिय नेता हुन्छ।’ तपाईंसँग त्यो गुण छ भनेर मलाई जिस्काउनुहुन्थ्यो।
म २०७३ सालमा ओखलढुंगा जिल्ला क्षेत्र नं १ बाट निर्वाचित भएँ। उहाँले त्यो कुरा सम्झिरहनुभएको रहेछ। त्यसपछि उहाँंले भन्नुभयो, ‘मैले ०५२ सालमा भनेको कुरा कस्तो लाग्यो?’ अनि मैले उहाँलाई जबाफ दिएँ, ‘तपाईंको भविष्यवाणीप्रति म सलाम गर्न चाहन्छु।’
म ०७४ सालमा विजय भएर काठमाडौ आएँ। रोल्पामा पूर्व माओवादी हार्नु, झापामा पूर्व एमाले हार्नु र ओखलढुंगामा कांग्रेस हार्नु उस्तै ठान्ने परिस्थिति थियो। तर म जितेर आएपछि कोही खुसी थियो भने रवीन्द्र दाइ हुनुहुन्थ्यो। उहाँले मलाई अंगालो मार्नुभयो। बधाई दिनुभयो। अहिले मलाई अभिभावक गुमाएको अनुभूति भएको छ।
०७२ सालमा रवीन्द्र दाइ र म मन्त्री हुने चर्चा थियो। उहाँ मन्त्री बन्नुहुन्छ होला भन्ने निश्चितजस्तै थियो। दाइ पनि ढुक्क हुनुहुन्थ्यो। तर उहाँ पर्नुभएन। दाइ नपरेपछि हामीले भन्यौं, ‘हाम्रो त चर्चा मात्रै थियो । तपाईंत मन्त्री हुनुहुन्छ होला भन्ने लागेको थियो।’ उहाँले गम्भीर भएर भन्नुभयो, ‘यस्तै हो राजनीतिमा।’ पार्टीको नवाैं महाधिवेशनमा उहाँले केन्द्रीय सदस्यमा सबैभन्दा बढी भोट ल्याउनुभयो। अनि मैले ‘यो निर्वाचनमा त दाइ मेस्सी नै हुनुभयो’ भनें। मैले भनेको थिएँ, ‘एउटा समूहबाट उम्मेदवार भए पनि भोट त सबैको ल्याउनुभएछ नि।’ त्यसबेला उहाँ मज्जाले हास्नुभयो। म उहाँलाई अग्रज र सफल भन्थें। उहाँले जबाफमा अब मलाई यज्ञराजले उछिन्यो, त्यस्तो ठाउँबाट जितेर आयो भन्नुहुन्थ्यो।
उहाँ बारम्बार भन्ने गर्नुहुन्थ्यो, 'जिन्दगीका अनेक मोड हुन्छन् कहाँ गएर ठक्कर खाइने हो? ठक्कर खायो, धुलो टकटक्यायो, उठ्यो।' तर त्यो ठक्करबाट धुलो टकटक्याएर नउठ्ने गरी उहाँ बिदा हुनुभयो।
(नेकपाका केन्द्रीय सदस्य एवं सांसद सुनुवारसँग कुराकानीमा आधारित)