वीरगंज - सवारी साधनको उच्च प्रयोगको साथै ठूला निर्माण योजनाको कारण पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ। इन्धनको आयात गत आर्थिक वर्षको पहिलो आठ महिनाको तुलनामा करिब ५० प्रतिशतले वृद्धि भएको छ।
वीरगंज भन्सार नाकाबाट मात्रै चालु आर्थिक वर्षको आठ महिनामा करिब ६८ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ इन्धन आयात भएको छ। वीरगंज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको फागुन २२ गतेसम्ममा ६७ अर्ब ८८ करोड ६३ लाख रुपैयाँ बराबरको पेट्रोलियम इन्धन आयात भएको हो। गत आर्थिक वर्षमा पहिलो ८ महिनाको अवधिमा ४५ अर्ब १७ करोड ५१ लाख रुपैयाँ बराबरको इन्धन आयात गरिएको थियो।
यो नाकाबाट हवाई इन्धनको साथै डिजल,पेट्रोल, मट्टीतेल र खाना पकाउने ग्याँसको आयात उल्लेखनीय रुपमा हुने गरेको छ। नेपाल आयल निगमको कूल इन्धन आयात मध्ये ६० प्रतिशत भन्दा बढी वीरगंज नाकाबाट नै भित्रिने गरेको छ। इन्धनको उच्च माग रहेको काठमाडौं उपत्यकाबाट छोटो दूरीमा अवस्थित हुनुकोसाथै बिहारको बरौनीबाट समेत अन्य ठूला भन्सार नाकाको तुलनामा नजिक रहेकोले ढुवानी खर्चको कारण निगमले इन्धन आपूर्तिका लागि वीरगंज भन्सार नाका नै प्राथमिकतामा पर्ने गरेकाे छ।
सवारी साधनको उच्च प्रयोगको साथै विद्युत आपूर्ति सेवा नपुगेको भूगोलमा निर्माणाधीन ठूला पूर्वाधार परियोजनाको संचालनको लागि समेत इन्धनको रुपमा पेट्रोलियम पदार्थ प्रयोग भइरहेकोले आयात उकालो लागेको हो। केही महिनायता भारतीय बजारको तुलनामा नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य ज्यादै सस्तो भएकोले समेत भारतबाट आयातित इन्धन तस्करीको माध्यमबाट पुनः भारततर्फ बाहिरने क्रम जारी छ।
वीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार, चालु आवको फागुन २२ गतेसम्म यो नाकाबाट ४ लाख ९८ हजार किलोलिटर डिजेल आयात भएको छ। यसैगरी २ लाख ५ हजार किलोलिटर पेट्रोल आयात भएको छ। नेपाल आयल निगमले यो नाकाबाट हवाई जहाजको उडानको लागि प्रयोग हुने हाइस्प्रिट डिजेल (एचएसडि) १ लाख १४ हजार किलोलिटर आयात गरेको छ। खाना पकाउन प्रयोग हुने तरल पेट्रोलियम ग्यास (एलपिजी) १५ करोड ८० लाख किलो आयात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४