आइतबार, साउन १७, २०८३

आर्थिक समृद्धिका लागि साना उद्योगको ठूलो योगदान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव- २०७५ को शुक्रबार राजधानीमा उद्घाटन गरेकी छिन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आयोजनामा गरेको घरेलु उद्योग महोत्सव २०७५ को उद्घाटन समारोहमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूले मुलुकको आर्थिक समृद्धिका लागि ठूलो योगदान पुर्याएको बताए।

समृद्धिका मुख्य आधार नै साना उद्योग भएको भन्दै उनले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने जानकारी गराए। ‘समृद्धि नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारालाई पुरा गर्नका लागि उद्योगहरुको प्रवद्र्घन र विकासमा ध्यान दिनुपर्छ,’ उनले भने ‘आर्थिक समृद्धिका अभियानमा कुनै पार्टी या समूह नभनेर सबैलाई समेटेर अगाडी बढ्न दिनुपर्छ।’

उनका अनुसार मुलुकमा  ८०/९० वर्षदेखिको राजनीतिक व्यवस्था परिवर्तको आन्दोलन सकिएको छ। अबको आन्दोलन भनेको आर्थिक समृद्धिका लागि हो। नेपालमा भएको कच्चा पदार्थ र कृषिजन्य उत्पादनको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिंदै उनले भने, ‘कृषि प्रधान मुलुक जहाँ ५० प्रतिशतबढी जनशक्ति कृषिमा निर्भर छन्’

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्न २०५८ सालबाट प्रदर्शनी शुरु गरेको बताए। साथै उनले विभिन्न आरोह-अवरोह पार गर्दै यसपटक १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योेग महोत्सव साथै तेश्रो प्रांगारिक कृषि मेला–२०७५ सञ्चालन गर्न पुगेको जानकारी दिए।

मुलकले अहिले वार्षिक १२ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरिरहेको भन्दै उनले भने, ‘एकातिर हामी दैनिक उपभोग्य बस्तुका सामान समेत विदेशबाट आयात गरिरहेका छौं भने अर्कोतिर हाम्रा निर्यात योग्य उत्पादन समेत निर्यात गर्न सकिरहेका छैनौं। निर्यातले मात्र हाम्रो व्यापारघाटा पुर्ति गर्नसक्ने अवस्थामा हामी छैनौं।’ स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने उनको बुझाइ छ।

महासंघका अनुसार उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन गरिने मेलाले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्दछ। प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योग लगायत सबै प्रकारका उद्योगको उत्पादनलाई समावेश गरिनेछ। बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव लगायत कार्यक्रमले प्रदर्शनीमा थप आकर्षण हुनेछ।

पाँच दिनसम्म चल्ने मेलामा २०५ वटा स्टल रहेका छन्। उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेका छन्। चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन्, मेला अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अयोजगले अपेक्षा गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्