शनिबार, साउन १६, २०८३

क्लाराको सपनामा नेपाली नारी कहाँ छन् ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

आज हामी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छौं । वर्षका ३६५ मा कुनै न कुनै दिवस परेकै हुन्छन् अन्तर्राष्ट्रिय स्तरमा । त्यस्ता दिवसमध्ये ८ मार्चको विशेष महत्त्व छ । यस दिन महिला अधिकारका पक्षमा बोलिन्छ, लेखिन्छ र भाषण गरिन्छ । हामीले पनि लामो समयदेखि त्यही अभ्यास गर्दै आएका छौं । धेरैलाई थाहा नहुन सक्छ नारी दिवसको प्रणेता को हुन् भनेर ? यहाँ तिनै महान् व्यक्तित्वबारे चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

जर्मनीकी क्लारा जेटकिन अन्तर्राष्ट्रिय नारी दिवसकी प्रणेता हुन्। उनको जन्म सन् १८५७ जुलाई ५ मा सामान्य परिवारमा भएको थियो। उनकी आमा सामाजिक कार्यकर्ता थिइन्। बाबु शिक्षण पेसामा आबद्ध थिए। ग्रामीण परिवेशमा जन्मेर हुर्केकी हुनाले उनले ग्रामीण महिलाका सुखदुःखलाई नजिकबाट नियाल्ने मौका पाइन्। महिलामाथि भएका सामाजिक र लैंगिक विभेदले उनको मनमा हलचल मच्चाइदियो।

नारीमाथिका अन्यायी र अत्याचारी प्रवृत्तिले उनको हृदय छियाछिया भयो। उनले गरिबी र शोषणले जर्जर भएको समाजलाई परिवर्तन गर्ने सोच बनाइन् । उनको ध्यान महिलामाथि हुने सामाजिक र लैंगिक विभेद कसरी कम गर्न सकिन्छ भन्नेमा केन्द्रित भयो। त्यतिबेला जर्मन महिलालाई राजनीतिक अधिकारबाट वञ्चित गरिएको थियो।

महिला सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक अधिकारबाट निकै पछाडि थिए । क्लाराले महिला उन्मुक्तिका लागि अभियान सञ्चालन गर्ने दृढ अठोट गरिन् । उनलाई यस कार्यमा समाजवादी विचारक ओसिप जेटकिनले सहयोग गरे । जर्मनीमा समाजवादीहरूको बढ्दो सक्रियतालाई सरकारले प्रतिबन्ध लगायो । उनी भने युरोपका विभिन्न ठाउँमा बसेर आफ्नो कार्यलाई निरन्तरता दिइरहिन् । सन् १८९० मा समाजवादीमाथि लागेको प्रतिबन्ध फुकुवा गरियो । तथापि महिलालाई औपचारिक रूपमा राजनीतिमा भाग लिने अवसर थिएन ।

फलस्वरूप उनी अनौपचारिक राजनीतिमा सक्रिय भइन्। सन् १९०७ मा भएको अन्तर्राष्ट्रिय सम्मेलनबाट उनी सचिव पदमा नियुक्त भइन्। त्यसपछि उनले आफ्नो आवाज अन्तर्राष्ट्रिय मञ्चहरुमा बुलन्द पार्दै लगिन्। सन् १९०८ मा उनले महिलाहरू राजनीतिक पार्टीमा संलग्न हुन पाउने अवसर प्राप्त गरेरै छाडिन्। त्यसपछि सन् १९१० मा कोपनहेगनमा अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो। सम्मेलनमा उनले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने प्रस्ताव राखिन्। उनको प्रस्ताव सर्वसम्मत स्वीकृत भयो। जसले गर्दा सन् १९११ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउन थालिएको हो।

नेपालका सहरी क्षेत्रमा अन्तर्राष्ट्रिय नारी दिवस धुमधामले मनाइन्छ। कानुनले नेपाली नारीहरूलाई प्रशस्त अधिकार दिएको छ। लैंगिक समानता, पैतृक सम्पत्तिमाथिको स्वामित्व, शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति आदि सबै दृष्टिले नारीहरू अधिकार सम्पन्न हुँदै गएका छन्। कुनै क्षेत्रमा समान अधिकार दिइएको छ भने कतै आरक्षणले महिलालाई शक्तिशाली बनाउन समाज र राज्य सक्रिय छ ।

महिला दिवस र महिला अधिकारबारेमा चर्चा गरिरहँदा धेरै अधिकार कागजमा सीमित पारिएको छ । पारिवारिक जिम्मेवारीकै कुरा गर्ने हो भने छोरालाई भन्दा छोरीलाई बढी बोझ परेको देखिन्छ नेपाली समाजमा । कामकाजी महिला दिनमा १५ घन्टा व्यस्त हुन्छन् भन्ने अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांकलाई आधार मान्ने हो भने महिलाका लागि ९ घन्टा मात्र फुर्सद हुन्छ । त्यति समयमा सुत्नु कि व्यक्तिगत काम गर्नु कि सामाजिक सञ्जालमा बस्नु कि अध्ययनमा संलग्न हुनु ? महिला दिवसमा यस्ता कुरा उठाउने कि नउठाउने ?

विभिन्न सभा र सम्मेलनमा, गोष्ठी र सेमिनारमा नारीका पक्षमा आवाज उठाउने व्यक्तिको कुनै कमी छैन यहाँ। महिला अधिकारका विषयमा काम गर्ने हजारौं संघसंस्थाहरु क्रियाशील छन्। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रायः महिलासम्बन्धी कार्यक्रम भइरहेका देखिन्छन्। यी सबैको परिणाम आँकलन गर्ने हो भने कति प्रतिशत महिला समृद्धिको मार्गमा छन् त ? यो अर्को खोजीको विषय हो ।

नेपाली समाजमा महिला कुनै न कुनै रूपले उत्पीडनमा परेका छन् । एकाध महिलालाई छाडेर शिक्षित र सम्भ्रान्त परिवारका महिलासमेत पितृसत्तात्मक समाजको सोचअनुरुप चल्न विवश बनेका छन् । उनीहरू बाहिर मुस्कान छर्दै हिँडे पनि आँसुका नुनिला घुट्का पिउन बाध्य छन्। कामकाजी महिलालाई समेत औंलो ठड्याउने र निगरानी गर्ने परिपाटीको अन्त्य हुन सकेको छैन हाम्रो समाजमा । त्यस्तै एउटै उमेरका छोराछोरीलाई हेर्ने दृष्टिकोणमा खै समानता? हाम्रो समाजमा छोरालाई छुट दिने प्रवृत्ति हाबी भएको छ।

छोरीलाई सिकाइने हरेक संस्कारहरु अझै पनि छोरालाई सिकाउन आवश्यक ठानिँदैन। के छोराले संस्कारित हुनु पर्दैन ? मानसम्मान, इज्जत र प्रतिष्ठा प्राप्त गर्न छोरीले मात्र मिहेनत गर्नुपर्छ ? अभिभावकले आफ्ना सन्ततिलाई समान शिक्षा र संस्कार दिनु जरुरी छ कि छैन ? यस्ता प्रश्नहरुको उत्तर नारी दिवसमै खोज्नु पर्छ अब ।
 
घरघरबाट नारी दिवसको महत्त्वलाई बुझ्ने बुझाउने अभ्यास गरौं । यतिबेला एउटा कथाको प्रसंग उल्लेख गर्न सान्दर्भिक हुन्छ, जसमा एकजना प्रबुद्ध व्यक्ति प्रमुख भूमिकामा थिए । उनी आफ्नो ज्ञान र विद्वत्ताका कारण निकै चर्चामा थिए। उनले यो संसारलाई बदल्ने सोच राखेका थिए । जति प्रयास गर्र्दा पनि संसार बदल्न सकेनन् । अन्ततः उनी देश बदल्ने  सोचमा लागे । तर उनले देश पनि बदल्न सकेनन् । त्यसपछि समाज बदल्नतर्फ अग्रसर भए । उनले समाज बदल्ने कार्यमा पनि सफलता प्राप्त गर्र्न सकेनन् ।

केही सीप नलागेर ती व्यक्तिमा परिवारमात्रै भए पनि बदल्ने सोच आयो । उनको त्यो सोचले पनि पूर्णता प्राप्त गर्न सकेन । त्यसको मूल कारण थियो, उनले आफूलाई नै बदल्न सकेका थिएनन् । कमजोरी उनीभित्रै थियो । हरेक कार्यबाट असफल भएपछि उनलाई आफ्नो कमजोरी ज्ञात भयो । त्यसपछि उनले आफूलाई परिवर्तन गरे । फलस्वरुप परिवार, समाज, देश र संसार नै बदलिएको महसुस गर्न थाले । यसरी हरेक व्यक्तिले आफ्नो सोच बदलेर अगाडि बढेमा नारी दिवस मनाउनुको औचित्य पुष्टि हुन्छ ।

क्लाराले महिलाका पक्षमा आवाज उठाइन् र सफल भइन् । त्यो एक सय वर्षअघिको अभियान थियो । हाम्रो समाजलाई सूक्ष्म रुपले नियाल्ने हो भने महिलाको अवस्था त्यतिबेलाको जस्तै छ । उनको योगदानलाई सम्झँदै हरेक व्यक्तिको सोचाइ परिवर्तन भएमा नारी दिवसले सार्थकता पाउनेछ । सबैलाई नारी दिवसको शुभकामना ! 
(भण्डारा, चितवन)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।