काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले महिला शसक्तिकरण र महिला आन्दोलनको विषयलाई प्राथमिकतामा पारेका छन् ।
आज परेको नारी दिवसको सन्दर्भ पारेर पत्रपत्रिकाहरुले महिलासँग सम्बन्धित विविध पाटोलाई उठान गरेका छन् । नागरिक दैनिकले सहभागिताले बढायो महिला सशक्तीकरण शीर्षकमा मुख्य समाचार छापेको छ । उसले राज्यसंयन्त्रमा महिलाको सहभागिता बढेको र महिलाहरु सचेत बन्न थालेको समाचारमा उल्लेख गरेको छ ।
नागरिकका अनुसार २५ सदस्यिय मन्त्रिपरिषद्मा महिला ४ जना छन् । जुन १६ प्रतिशत हुन आउँछ । संघीय संसद्मा ३३४ सदस्यमध्ये ११२ महिला रहेका छन् । जुन ३३.५ प्रतिशत हो । स्थानीय तहमा महिलाको उपस्थिती ३७ प्रतिशत छ भने नेपाली सेनामा सबैभन्दा कम ४.७ प्रतिशत रहेको छ । प्रहरीमा ८.८ प्रतिशत र निजामतिमा २४.५ प्रतिशत रहेको छ ।
कान्तिपुर दैनिकले भने वर्षभरि महिला आन्दोलित शीर्षकमा खबर लेखेको छ ।
निर्मला हत्या काण्ड, गोदामचौर बलात्कार प्रकरण, मिटु अभियान, नागरिकता विधेयकलगायतका कारणले महिला यो वर्षभरि नै आन्दोलित बनेका छन् । गएको मार्च ८ देखि अहिलेको मार्च ८ सम्म महिलाले न्यायका लागि सडक उत्रिएर आन्दोलन चर्काएको कान्तिपुरले खबर लेखेको छ ।
अन्नपूर्ण पोस्ट्ले भने उस्तै छ बेनाम नारीका दुःख शीर्षकमा दुई छाक खानका लागि दिनरात श्रम गर्नेहरुको कथा लेखेको छ ।
यो विषय बाहेक अन्नपूर्णले नयाँ नक्सामा समेटियो कालापानी शीर्षकमा मुख्य समाचार छापेको छ । कान्तिपुरले भने मनपरि शुल्क उठाउने गण्डकी मेडिकल कलेजकका परीक्षा नियन्त्रक र सिईओ पक्राउ परेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले भने सरकारप्रति नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निराश बन्दै गएको विषयलाई महत्वका साथ छापेको छ भने अख्तियारमै प्रतिजासुस संयन्त्र परिचालन गरेको खबरल पनि लेखेको छ ।
नयाँ पत्रिकाले भने अस्पतालमा बिरामीको व्यापार हुने गरेको विषयलाई मुख्य समाचार बनाएको छ । सरकारीले पठाउँछन्, निजीले कमाउँछन् शीर्षकमा अस्पतालहरुले के कामका लागि कति शुल्क लिने गरेका छन् भन्ने विवरण पेश गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४