जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न चासो नदेखाएको भन्दै स्थानीयले मुख्य सडकमै फोहोर फ्यालेर विरोध गरेका छन् ।
फोहोर व्यवस्थापन गर्न पटकपटक अनुरोध गरेपनि उपमहानगर कार्यालयले चासो नदेखाएपछि जनकपुरधाम वडा नम्बर ८ का स्थानीयहरुले मुख्य सडकको बीचमा फोहोर थुपारेर विरोध गरेका हुन् । उनीहरुले जनकपुरको जिरोमाइल–रामानन्द चोक सडक खण्डको भ्रमरपुरा चोक नजिक फोहोर फ्यालेर उपमहानगरको विरोध गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–८ का स्थानीयहरुले आफ्नै निजी स्रोतबाट फाहोर संकलन गर्दै आइरहेका छन् । पछिल्लो एक वर्षदेखि निजी स्रोतबाट टोलमा संकलन गर्दै आइरहेको फोहोर व्यवस्थापन गर्न उपमहानगरपालिकाले चासो नदेखाएपछि बाध्य भएर बीच सडकमा फोहोर थुपारेर विरोध गरेको सफाइ अभियन्ता स्थानीय दीपक ठाकुरले बताए ।
टोल सफा र स्वच्छ राख्न निजी स्रोतसाधन जुटाएर फोहोर संकलन गर्दै आइरहेपनि व्यवस्थापन गर्न सरोकारबला निकायले चासो नदेखाएको ठाकुरको आरोप छ । टोलका विभित्र घरहरुबाट निस्केको फोहोर आफूहरुले निजी स्रोतसधानबाट संकलन गरेपनि व्यवस्थापन गर्न सरोकारबला निकायलाई गरेको अनुरोधउपर सुनवाइ नभएको उनको भनाइ छ ।
‘बीच सडकमा फोहोर थुपार्ने हाम्रो रहल पक्कैपनि होइन’ ठाकुरले भने,‘फोहोर व्यवस्थापन गर्न हामीले पटक पटक आग्रह गरेका छौं । तर सुनवाइ नभएपछि बाध्य भएर बीच सडकमा फ्यालेका छौं ।’ एक ठाउँबाट संकलन गरेर अर्को ठाउँमा थुपारेर फोहोर नगरेर सम्बन्धित निकायले दीर्घकालीन उपाय खोज्नुपर्ने स्थानीयवासीको भनाइ छ ।
उपमहानगरपालिका स्रोतका अनुसार जनकपुरको शहरी क्षेत्रबाट मात्रै दैनिक १ देखि २ टन फोहोर निस्कने गरेको छ । तर निश्चित डम्पिङ साइट नहुँदा जनकपुरमा फोहोर व्यवस्थापन चुनौति बन्दै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४