काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले राजपाका नेता रेशमलाल चौधरीसहित ११ लाई जन्मकैद सुनाएको र यहि आक्रोशमा राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
आजका अन्नपूर्ण पोस्ट्ले रेशमलाई जन्मकैद शीर्षकमा खबर लेखेको छ भने संसद्ले रोकेन अदालतले रोक्यो शीर्षकमा नागरिक दैनिकले समाचार छापेको छ । आजको कान्तिपुरले टीकापुर घटनामा सांसद चौधरीसहित ११ लाई जन्मकैदः राजपाद्वारा समर्थन फिर्ता शीर्षकमा खबर लेखेको छ ।
कान्तिपुरले यो विषयबाहेक गाउँमै रोजगार बैंक शीर्षकमा मुख्य समाचार छापेको छ ।
कालिकोटको रास्कोट नगरपालिकाले दक्ष जनशक्ति उत्पादन र परिचालन गर्न श्रम रोजगार बैंक स्थापना गरेको छ । मासिक २१ हजार तलव दिने गरि स्थानीय दुई हजार युवालाई रोजगारी दिइने भएको छ । श्रमयोग्य नागरिकलाई विकास निर्माणमा लगाउन रणनीति अनुरुप यस्तो योजना लागु गरिएको समाचारमा उल्लेख छ ।
आजको नयाँ पत्रिकाले पनि कालिकोटमा श्रम बैंक स्थापना भएको विषयलाई पहिलो पृष्ठमा महत्वका साथ प्रकाशित गरेको छ ।
युवालाई गाउँमै रोजगारी दिन श्रम बैंकको सुरुवात गरिएको रास्कोट नगरपालिकाका मेयर काशीचन्द्र बरालले बताएका छन् । नगरका सबै वडाबाट बेरोजगार युवा समेटेर श्रम बैंक स्थापना गरिएको र नगरपालिकाभित्र कुनै पनि युवालाई बेरोजगार नराख्ने गरि अभियान चलाइएको समाचारमा उल्लेख छ ।
नयाँ पत्रिकाले मुख्य समाचार भने कान्ति बाल अस्पतालको लाथालिंग अवस्थाका विषयमा लेखिएको खबरलाई बनाएको छ ।
कान्ति बाल अस्पतालमा तीन वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान शीर्षकमा खबर लेखेको छ । देशको केन्द्रीय बाल अस्पतालमा एक्सरे पनि १५ वर्ष पुरानो, निमोनिया भए–नभएको निश्चित गर्न सक्ने अवस्थामा नरहेको समाचारमा उल्लेख छ ।
राजनारायण पाठकको घुस प्रकरणमा अख्यिारले उपराष्ट्रपतिका छोरासँग बयान लिने तयारी गरेको विषयलाई अन्नपूर्णले महत्वका साथ छापेको छ। नागरिकले भने बैठक टारेर अन्सारीको बाटो खोल्ने खेल शीर्षकमा खबर लेखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४