भैरहवा - पूर्व उपप्रधान तथा गृहमन्त्री कमल थापाले तराई मधेसमा केही तत्वले देश टुक्र्याउन चलखेल गरिरहेको बताएका छन्। उनले मधेश स्वतन्त्र देश भन्नेहरु विखन्डनकारी भएको बताउँदै त्यस्तालाई राज्यले तत्काल कारबाही गर्नुपर्ने बताए।
राप्रपाले थालेको मेचीमहाकाली स्वाभिमान यात्रा २०७५ लाई भैरहवामा सम्बोधन गर्दै उनले भने, ‘मधेस स्वतन्त्र देश भनेर नाराबाजी गरियो। नजिकै बसेको प्रहरी प्रशासन रमिते भयो। सरकार मौन भयो। यसले देशबासीमा निकै चिन्ता सृजना गरेको छ।' राप्रपाका अध्यक्षसमेत रहेका थापाले गलत राजनीतिक संस्कारको कारण देश टुक्र्याउँछु भन्नेहरु निस्कीएको दाबी गरे। उनले भने ‘नेपालको इतिहासमा देश टुक्र्याउँछु भनेर नाराबाजी गर्नेहरु पहिलो पटक सार्वजनिक भए। तर राज्य मौन बसिरह्यो । यसलाई समयमै निस्तेज गरिएन भने देशमा ठुलो दुर्घटना हुन सक्छ।’
‘नेपालमा राजनीतिक परिवर्तनहरु भए। पञ्चायत थियो। राजाको शासन थियो। तर, कहिल्यै देश टुक्र्याउने आवाज उठेन तर अहिले उठीरहको छ, यो सरकारको नालायकीपनको कारण हो।’, थापाले भने। स्वतन्त्र मधेशको लागि संघर्ष गर्दै आएका सिके राउत र उनका समर्थकहरुप्रति संकेत गर्दै थापाले नेपालको तराई मधेसलाई अलग राज्य गराउने हिम्मत दिनेहरु ठुला दलका ठुला नेताहरु नै भएकोमा आशंका सृजना भएको बताए। उनले नेपाललाई अलग-अलग गर्ने सपना कसैले देख्नु दिवा स्वप्न मात्रै हुने बताउँदै राप्रपाले हिमाल, पहाड र तराईमा बढ्दै गएको विखन्डनकारी चिन्तनलाई चिर्दै अखण्ड नेपाल बनाउने अभियान थालेको बताए।
पूर्व गृहमन्त्री थापाले ०५२ सालमा बन्दुक उठाएको माओवादीको कारण १७ हजार मान्छेको ज्यान गएको, खर्बौ रकमको भौतिक संरचना नोक्सान भएको सन्दर्भ उल्लेख गर्दै, '०६२/०६३ को आन्दोलनले राजसंस्थालाई पाखा लगायो, जनभावना विपरीत हिन्दूराष्ट्र खोसियो आखिर के पाए त जनताले?' भन्दै आक्रोस व्यक्त गरे। थापाले देशमा राजसंस्था र हिन्दू राष्ट्र नफर्किएसम्म जनतामा कहिल्यै समृद्धि नआउने जिकीर गरे।
अध्यक्ष थापाले देशमा लुटतन्त्र चलिरहेको बताए। उनले एनसेलमा ४० अर्बको भ्रष्टाचार , ३८ क्विन्टल सुनको तस्करी र बाइडबडीको भ्रष्टाचारका मुख्य नाईके ठुला दलका ठुला नेता नै भएकोसमेत आरोप लगाए।
सोही सभामा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले हिन्दू राष्ट्र र राजसंस्था नफर्काइए चैत्र पछि देशैभर आन्दोलनको आधिबेहरी सृजन गर्ने बताए। राप्रपाले फागुन १५ गते ताप्लेजुङगको पाथिभराबाट मेचीमहाकाली स्वाभिमान यात्रा सुरु गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४