काठमाडौं - नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन ६ दिने जिल्ला भ्रमण जाने भएका छन्। कांग्रेस केन्द्रीय कार्यालयले पार्टी सभापति देउवा प्रदेश नं १ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाटका लागि जाने भ्रमण तालिका सार्वजनिक गरेको छ।
भ्रमण तालिकाअनुसार उनी बिहीबार बिहान विराटनगर प्रस्थान गर्नेछन्। उनी मोरङबाट कांग्रेसका तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच छलफल कार्यक्रममा सहभागी हुनेछन्। सोही दिन देउवा मोरङबाट निर्वाचित सांसदसँग छलफल कार्यक्रममा सहभागी भई काठमाडौं फर्कनेछन्।
सभापति देउवा कार्यकर्ता भेटघाट र पार्टीका कार्यक्रममा सहभागी हुन फागुन २४ गते पोखरा प्रस्थान गर्नेछन्। फागुन २५ गते बिहान पोखराबाट हेलिकप्टरद्वारा उनी म्याग्दीको सिंहा तातोपानी प्रस्थान गरी त्यहाँबाट सडक मार्ग हुँदै बेनीबजार जाने र त्यहाँ कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवन उद्घाटनसभालाई सम्बोधन गर्नेछन्।
सभापति देउवा फागुन २६ गते बिहान बेनीबाट सडक मार्ग हुँदै पर्वतको जलजला गाउँपालिकाको मिलनचोक जाने र त्यहाँ कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास गर्नेछन्। सोही दिन उनी बाग्लुङबजार प्रस्थान गरी कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्। फागुन २७ गते बिहान बाग्लुङ सदरमुकामबाट पर्वतको कुश्मा जाने र कांग्रेस पर्वत जिल्ला सम्मेलनलाई सम्बोधन गरी पोखरा फर्कनेछन्। फागुन २८ गते बिहान देउवा काठमाडौँ फर्कने कांग्रेसले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४