काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पार्टी सभापति शेरबहादुर देउवा विरोधी नेताहरुको विशेष जमघट भएको छ।
पार्टीमा सभापति देउवा एकलौटी रूपमा अघि बढ्न खोजेपछि देउवाविरोधी गुटहरु एकै ठाउँमा जम्मा भएका छन्। मंगलबार र बुधबार भएको जमघटमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र कोइराला क्याम्पसँग निकट सबैजसो नेताहरु सहभागी थिए। त्यहाँ देउवाबाट भएका एकलौटी कदमको खुलेर आलोचना भएको थियो र आगामी महाधिवेशमा देउवाविरुद्ध संगठित ढंगले अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको थियो।
चाक्सीबारी जमघटले कांग्रेसको आन्तरिक राजनीतिलाई तरंगित गरेको छ। चाक्सीबारीमा भइरहेको छलफललाई संस्थापक्ष पक्षले चासोका साथ नियालेको छ। देउवा निवासमा बुधबार बिहान चाक्सीबारी जमघटलाई प्रभावहीन तुल्याउने रणनीतिबारे छलफल भएको स्रोतले बतायो।
बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, चन्द्र भण्डारी, गगन थापालगायका नेताहरुको उपस्थिति छ। गुटमा नलागेका रामशरण महतजस्ता वरिष्ठ नेताहरुको उपस्थितिले चाक्सीबारीको भेटघाटलाई थप महत्वपूर्ण बनाएको छ।
कांग्रेस केन्द्रीय समितिको पछिल्लो बैठकमा देउवाले बहुमतको बलमा भइसकेको सहमतिलाई समेत उल्टाउने प्रयास गरेको आरोप लगाउँदै असन्तुष्ट रहेका पौडेल, कोइराला र सिटौला एक ठाउँमा आएका हुन्। सहमतीय प्रक्रियाका साथ अगाडि बढ्ने निर्णय भएसम्म पार्टीको बैठक बहिस्कार गर्ने निर्णयसमेत चाक्सीबारी जमघटले गरेको छ। असन्तुष्ट पक्षका केन्द्रीय समितिको निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए।
मंगलबार मात्रै जिल्ला सभापतिहरुले केन्द्रीय समितिले निर्णय नसच्चाए विशेष महाधिवेशनको पहल थाल्ने भन्दै विज्ञप्ति निकालेका थिए। चाक्सीबारी बैठकले जिल्ला सभापतिहरुले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा समर्थनसमेत जनाएको छ। ५६ जिल्लाका सभापतिले पार्टी नेतृत्वले महासमितिमा भएको सहमति उल्लंघन हुने गरी केन्द्रीय समितिको बहुमतले निर्णय गरेको भन्दै विशेष महाधिवेशनमा जाने चेतावनीसहित विज्ञप्ति निकालका थिए।
सभापति देउवालाई थप दबाबमा पार्ने रणनीतिअनुसार चाक्सीबारी जमघट आयोजना गरिएको सहभागी नेताले बताए। केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
अनुसाशन समिति, नेविसंघ, निर्वाचन समिति र अन्य विषयहरु सहमतिका आधारमा टुंगो लगाउनुपर्ने र यसबारेमा महासमिति बैठकमा समझदारी भएको असन्तुष्ट पक्षको भनाइ छ।
केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले महासमिति बैठकमा पार्टी सभापतिले गरेको प्रतिबद्धता र शीर्ष तहमा भइसकेको समझदारी कार्यन्वयन गर्नुपर्नेमा बहुमतको बलमा पेलेर अघि बढ्न थालेपछि यो अवस्था आएको बताए। उनले बहुमतको बलमा गरिएका निर्णय सच्चाउनुपर्ने र सहमतिका साथ अघि बढ्नुपर्ने बताउँदै भने, 'अहिले हामीले त्यही मान्यतामा छलफल गरिरहेका छौं।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४