भैरहवा - रूपन्देही सदरमुकाम सिद्धार्थनगरमा रहेको भैरहवा बहुमुखी क्याम्पसले स्वर्ण महोत्सव मनाइरेहको छ। मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार समुद्घाटन गर्ने स्वर्णमहोत्सव समारोहको तयारी पूरा भएको क्याम्पस प्रमुख अनिलकुमार झाले बताए। क्याम्पस प्रमुख झाले भने, ‘सबै तयारी पूरा भइसकेको छ। फागुन २२ गते प्रभातफेरीबाट सुरु भई मुख्यमन्त्री शंकर पोखेरलबाट उद्घाटन भएको कार्यक्रम साताव्यापी चल्नेछ। उक्त कार्यक्रम फागुन २९ गते शिक्षामन्त्री गिरीराजमणि पोखरेलले समापन गरेपछि सकिनेछ।’
क्याम्पस प्रमुख झाका अनुसार विभिन्न खेलकुद तथा साहित्यिक प्रतियोगिताका अतिरिक्त पूर्वशिक्षक कर्मचारीबीचको मिलन र पूर्वविद्यार्थीको मिलन कार्यक्रम पनि महोत्सवका महत्त्वपूर्ण कार्यक्रम छन्। स्वर्णमहोत्सवको अवसर पारेर यतिबेला क्याम्पसमा रंगरोगन, सरसफाइ तथा विभिन्न उपसमितिमार्फत गर्ने काम सबै पूरा भइसकेको महोत्सव प्रचार प्रसार समिति संयोजक बाबुराम काफ्लेले बताए।
विगत
२०२५ साल भदौ ४ गते पब्लिक क्याम्पसका रूपमा स्थापना भएको तत्कालीन सिद्धार्थ कलेज सुरुताका भैरहवा हाइस्कुलमा सञ्चालन भएको थियो। करिब एक सय ५० जना विद्यार्थीबाट पठनपाठन सुरु भएको उक्त क्याम्पसमा डा. हर्षबहादुर बुढा प्राचार्य थिए। बिए तहको पहिलो कक्षामा प्राध्यापन गर्ने संस्थापक लेक्चरर बालकृष्ण भट्टराई भन्छन्, ‘रूपन्देहीमा बिए तहमा पढाइ हुने एकमात्र क्याम्पस सिद्धार्थ कलेज थियो। बुटवलमा लुम्बिनी कलेज थियो तर त्यहाँ बिए पढाइ हुँदैनथ्यो। त्यसैले बुटवलबाट अनुपमान सैजुहरु, पाल्पाबाट रामचन्द्र आचार्यहरु पनि साँझको कक्षा लिन आउनुहुन्थ्यो।’ त्यतिबेला बिजुली बत्तीको समस्या ह्ँदा मइन्टोल (पेट्रोम्याक्स) बालेर रातिको कक्षा लिने गरेको भट्टराईले बताए।
मइन्टोलको उज्यालोमा ५ जना लेक्चररले प्राध्यापन गरेको सिद्धार्थ कलेज समयक्रमसँगै अहिले प्रदेश ५ कै महत्त्वपूर्ण क्याम्पसका रूपमा स्थापित भएको छ। मिश्री लिगल, प्रतिभा लिगल, माधुरी थापा, चन्द्रा गुरुङ जस्ता छात्राछात्र जत्तिकै सक्रिय भएर अध्ययन गर्दथे त्यतिबेला। ०३० सालमा देशमा नयाँ शिक्षा लागू भएसँगै सिद्धार्थ कलेजबाट त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रूपान्तरण भएको उक्त क्याम्पस हाल भैरहवा बहुमुखी क्याम्पसका नामले परिचित छ। मइन्टोलको उज्यालोमा पढ्न गाह्रो भएपछि केही समय पक्लिहवा हाइस्कुलमा बिट्रिस क्याम्पको लाइट तानेर पठनपाठनसमेत भयो। उक्त क्याम्पस ०२९ सालमा भैरहवा विमानस्थलको जग्गा प्राप्तिसँगै हालको स्थान शान्तिनगरमा सरेको थियो। उक्त स्थानमा पनि सुरुताका भवन नहुँदा समाजसेवी नथमल अग्रवालकी पत्नी गिनियादेवी अग्रवालले आफ्नो गहना बेचेर ३ कोठा निर्माण गरिदिएपछि भौतिक रूपमा क्याम्पसले रूप धारण गरेको हो।
२०४१ सालदेखि भैरहवा क्याम्पसमा प्राध्यापन गर्दै आएका पूर्वक्याम्पस प्रमुख प्रा.डा कपिलदेव लामिछानेका अनुसार भैरहवा क्याम्पसले उत्पादन गरेका विद्यार्थी अपवादबाहेक सबै कुनै न कुनै ठाउँमा पहिचान स्थापित गरेर बसेका छन्। प्रा.डा लामिछाने भन्छन्, ‘मलाई लाग्छ यहाँका लगभग सबै विद्यार्थी राम्रो पदप्रतिष्ठामा छन्। असल मान्छेका रूपमा परिचित छन्। कयौं रोजगारी, राजनीति, व्यापार व्यवसाय तथा आआफ्नो व्यवसायमा छन्। तर कोही पनि बेरोजगार छैनन्।’
भैरहवा क्याम्पसमा विद्यार्थीका रुपमा जीवराज आश्रितदेखि हाल श्रीलंकाका लागि नेपाली राजदूत रहेका खगनाथ अधिकारीसम्मले अध्ययन गरिसकेका छन्। यस्तै पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, पत्रकार किशोर नेपाल, नेपाल प्रहरीका पूर्व आइजिपी कुबेरसिंह राना, सहिद यादवनाथ आलोक, नेकपा नेता नेत्र पन्थी, विजय पौडेल, नेपाल प्रहरीका उच्च अधिकृत केशव अधिकारी, राप्रपाका नेता सागरप्रताप राणा, पूर्वसिडिओ अब्दुल कलाम खाँ, मन्दाकिनी श्रेष्ठ, दामोदर पन्त, कर विभागका उच्च अधिकृत महाराजा कोइरालाजस्ता देशका स्थापित व्यक्तित्वहरु भैरहवा क्याम्पसका पूर्वविद्यार्थी हुन्।
विद्यार्थी आन्दोलनको इतिहास
नेपालको विद्यार्थी आन्दोलनमा तत्कालीन सिद्धार्थ कलेजको नाम अग्रपंक्तिमा आउने गर्दछ। त्यतिबेला सिद्धार्थ कलेजसहित लुम्बिनी अञ्चलका ४ वटा र देशभरका १४ वटा क्याम्पसका विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गर्ने निर्णय भयो। वर्षभर पढेका विद्यार्थीले परीक्षा दिन नपाउने भएपछि विद्यार्थीले पञ्चायती सरकारविरुद्ध आन्दोलन सुरु गरे। उक्त कलेज स्थापनाकालका विद्यार्थी त्रिलोकनारायण विश्वकर्मा भन्छन्, ‘जीवराज आश्रित र नेत्र गुरुङहरुले नेतृत्व गरेको आन्दोलन यति चर्कियो कि सरकारलाई सकस नै पार्याे । प्रहरी ज्यादतीका कारण कैयौंका टाउका फुटे, कैयौंका हातखुट्टा भाँच्चिए। आश्रितसहितका विद्यार्थी नेताहरुलाई जेल हालियो। तर, पछि क्याम्पस प्रमुख हर्षबहादुर सरसहित काठमाडौं डेलिगेसन गरेर वार्ता गरेपछि परीक्षा दिने वातावरण तय भएको थियो।’
उक्त विद्यार्थी आन्दोलनको दबाबकै कारण सिद्धार्थ कलेजका विद्यार्थीको फारम सबै पिएन क्याम्पस पोखराबाट भरियो। त्यसमध्ये मानाविकी संकायकाले पाल्पा र विज्ञान संकायकाले नेपालगन्जबाट परीक्षा दिने व्यवस्था गरेअनुसार आफुले आइए पढ्ने हुँदा पाल्पा गएर परीक्षा दिएको विक सम्झिन्छन्।
वर्तमान
सिद्धार्थ कलेजका रूपमा रहँदा आइए, बिए र आइएस्सीसम्म पठनपाठन भएको यस क्याम्पसमा हाल शिक्षा, मानाविकी, विज्ञान तथा प्रविधि र व्यवस्थापन संकायमा पठनपाठन हुने गरेको छ। विज्ञानतर्फ फिजिक्स, केमेस्ट्री, बोटनी, जुलोजी, म्याथमेटिक्स र प्राविधिकतर्फ बिएससी सिएसआइटीको पठनपाठन भइरहेको प्रमुख झाले बताए।
क्याम्पसमा व्यस्थापनमा बिबिएस, एमबिएस र प्राविधिकतर्फ बिबिएम, बिबिए र बिआइएमका कक्षा पनि सञ्चालनमा रहेका छन्। मानविकीमा विभिन्न विषयमा बिए तह र एमए नेपाली, एमए समाजशास्त्र, बिसिए प्राविधिकसमेत पठनपाठन भइरहेको क्याम्पसमा बिएड र एमएड करिकुलम, हेल्थ, नेपाली र अंग्रेजीसमेतको पठनपाठन भइरहेको छ। हाल तीनजना प्रोफेसर सहित ८३ जना एकाडेमिसियनले शिक्षा प्रदान गरिरहेका उक्त क्याम्पसमा २ हजार ३ सय ४५ जना विद्यार्थीले नियमित पठनपाठन गरिरहेका छन्। क्याम्पसमा पश्चिम नेपालकै सुविधा सम्पन्न ई लाइब्रेरीसहित पर्याप्त पुस्तक, महिला तथा पुरुष छात्रवास र खेलमैदान तथा २६ जना कर्मचारी कार्यरत छन्। भौतिक पूर्वाधारले सम्पन्न उक्त क्याम्पस प्रदेश ५ कै महत्त्वपूर्ण र ऐतिहासिक क्याम्पसका रूपमा रहेको स्ववियु पूर्वसभापति तथा लेखनाथ भट्टराईले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४