धनगढी : कैलाली जिल्ला अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । उक्त मुद्दाको बहस सकिएपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले बुधबार यस्तो फैसला गरेको हो।
उनीहरूलाई मुलुकी ऐनको कर्तव्य ज्यान महलको १३ (३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला गरिएको अदालतजले जनाएको छ । घटनाका अन्य अभियुक्त लक्ष्मण थारु लगायत १२ जनाको तीन वर्ष कैद भुक्तानी भैसकेकोले बुधबारनै छुट्ने भएका छन्। फरार ३१ जनाको हकमा मुल्तबीमा राखिएको छ। यस्तै नुरुल अलि जागा भन्ने तहौंवर अलि जागा, विसराम चौधरी (कुस्मी) र रामनरेश चौधरीले सफाई पाएका छन्।
कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपद प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मीको मृत्यु भएको थियो । प्रदर्शनकारीको आक्रमणबाट २ वर्षका बालक टेकेन्द्र साउदको पनि मृत्यु भएको थियो । घटनामा ५० भन्दा बढी सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएका थिए ।
टीकापुर घटनापछि फरार अभियुक्त रेशम चौधरी फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजपाका तर्फबाट उम्मेदवारी दिएर कैलाली निर्वाचन क्षेत्र नं १ बाट अत्यधिक मतका साथ विजयी भएका थिए।
जिल्ला अदालत कैलालीले २०७४ फागुन १४ गते टीकापुर घटनाको मुख्य अभियुक्त रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।
जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि जेल जीवन बिताइरहेका चौधरीले २० फागुन ०७४ मा जिल्ला कारागार कैलालीमा आमरण अनशन सुरु गरेका थिए । चौधरीको १८ दिन लामो आमरण अनशन तोडाउन प्रधानमन्त्री केपी शर्माओलीसँग राजपाले वार्ता गरेको थियो । चौधरीलाई संसद्ले २०७५ पुस १९ गतेमात्र सांसदको शपथ गराएको थियो । हत्याका अभियुक्तलाई शपथ गराएको भन्दै सरकार र संसद्को चर्को आलोचना भएको थियो।
यो पनि पढ्नुस्,