धनगढी – कैलालीको टिकापुरमा साढे तीन वर्ष पहिले सुरक्षाकर्मी र नावालकसहित आठको ज्यान जाने गरी भएको नरसंहार मुद्दाको बहस मंगलबार सकिएको छ।
गत बुधबार फागुन १५ गते कैलाली जिल्ला अदालतमा सुरु भएको मुद्दाको लगातार चार दिनको बहस पछि मंगलबार बहस सकिएको हो। लामो अध्ययन र अनुसन्धान पछि बुधबारका लागि पेशी तोकिएकोमा न्यायाधीश परशुराम भट्टराईको इजलासमा चार दिन बहस चलेको हो।
जिल्ला अदालतका श्रेस्तेदार इन्द्र कठायतले चार दिन भएको बहस मंगलबार सकिएको जानकारी दिए। एनका अनुसार उक्त मुद्दामा बादी अर्थात सरकारी पक्षबाट दुई जिल्ला न्यायधिवक्ता तथा प्रतिबादी अर्थात अभियुक्तका तर्फबाट १२ गरी १४ कानुन व्यवसायीले बहस गरेका छन्।
बहस सुरु भएको पहिलो दिन बुधबार नै संसकृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रबिन्द्र अधिकारीसहित सात जनाको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएपछि बिहिबार राष्ट्रिय शोक तथा त्यसपछि पनि एक दिन बिराएर बिदा भएकाले मुद्दाको बहस लम्बिएको हो। शुक्रबार दिनभर बहस भयो भने आइतबार पुनः बहस भएर सोमबार शिवरात्रीको बिदा परेको थियो। मुद्दाको लामो बहस भइसकेकाले संभवत् बुधबार नै फैसला हुनसक्ने देखिएको छ। घट्नाबारे थप केहि बुझ्नु पर्ने देखिए पछि भने फैसला रोकिन सक्छ।
अदालत यस अघि साउन ३० गते पहिलो पटक मुद्दा पेशीमा चढेकोमा त्यो दिनवादी र प्रतिवादी दूवै पक्षलाई साक्षीसहित भदौ २४ गते अदालतमा उपस्थित हुन आदेश भएको थियो। यसअघि म्याद तामेली हुन नसक्दा मुद्दाको सुनुवाईको प्रक्रिया सुरु भएको थिएन। थरुहट–थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी एक नाबालकसहित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेलगायत सात प्रहरीको ज्यान गएको थियो। एक घाइतेको उपचारका क्रमममा ज्यान गएको थियो।
घट्नाका आरोपित भनिएका सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। दुई नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकी २३ लाई कैलाली कारागारमा राखिएको छ।
घट्नामा संलग्न भनिएकामध्ये २२ जना अझैँ फरार छन्। उनीहरू विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ। प्रदर्शनकारीले बरिष्ठ प्रहरी उपरिक्षकसहितको टोलीलाई खुकुरी, भाला र बञ्चरो लगायतका घरेलु हतियार प्रहार गरि हत्या गरेका थिए। घट्नामा न्यौपानेसहित प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्दले ज्यान गुमाएका थिए। यस्तै सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान राम विहारी चौधरीको पनि घटनामा मृत्यु भएको थियो। सोहि घट्नामा दूई वर्षीय बालक टेकबहादुर साउदको पनि ज्यान गएको थियो।
लामो समयसम्म अदालतमा बिचाराधिन भएको टीकापुर नरसंहारको मुद्दाको कस्तो फैसला हुन्छ भन्ने धेरैले चाँसोको रुपमा हेरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४