काठमाडौं – मञ्चको पृष्ठभूमिमा झुन्डिएको यदु गौतमको तस्बिर। मञ्चमा गौतमका वृद्ध बुवा उमाकान्त गौतमले आसन ग्रहण गरिसकेका थिए। यदुकी पत्नी तीर्था गौतम र उनका छोराछोरी पनि अतिथिको आसन ग्रहणमा थिए। मञ्चको तल्लो भागमा लेखिएको थियो माओवादीद्धारा हत्या गरिएका रुकुमका प्रखर नेता यदु गौतम स्मृति पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारहरू। सोही मञ्चमा विशेष अतिथि थिए नेकपा स्थायी समिति सदस्य तत्कालीन माओवादीका डेपुटी कमान्डर जनार्दन शर्मा प्रभाकर। मुख्य अतिथि थिए उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल।
०५६ सालको निर्वाचनमा नेकपा एमाले तर्फबाट उम्मेवार बनाइएका गौतमको तत्कालीन माओवादीले हत्या गरेको थियो। एमालेले त्यसको विरोध गर्दै आइरहेको थियो भने माओवादीले पछि गल्ती स्वीकारेको थियो। गौतमको स्मृति दिवसमा माओवादी नेता सामेल भएको यो पहिलो हो।
उपप्रधानमन्त्री पोखरेलले यदुको हत्या अनुचित र आपरधिक भएको बताए। पोखरेलले अब त्यो घटना नसम्झिई त्यसबाट पाठ सिकेर समीक्षा गर्दै अगाडि बढ्नपर्नेमा जोड दिए। उनले कार्यकर्ताका चाहना, राष्टिय राजनीतिको आवश्यकता र जनताको भावनाबमोजिम पार्टी एकता भएकाले पहिलाका घटना सम्झेर बस्नु नहुने बताए।
नेकपा स्थायी समितिका सदस्य जनार्दन शर्माले यदु गौतमको हत्या पार्टीको योजना र निर्णयले नभएको दाबी गरे। उनले गौतमको हत्या गल्ती भएको स्वीकार्दै त्यसबाट ठूलो क्षति भएको बताए।
हत्या गरिएका गौतमकी धर्म पत्नी सांसद तीर्था गौतमले आफूहरुका लागि फागुन महिना पीडादायी भएको बताइन्। उनले झापामा २०२८ साल फागुन २१ गते पाँच सहिद भएको, २०५५ साल फागुन २१ मा यदुको हत्या भएको र यही फागुनमा रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको निधन भएको बताइन्।
नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले यदु कतैतिरको नभएका कारण सहिद घोाषण नगरिएको गुनासो गरे। उनले तुरुन्त गौतमलाई सहिद घोषणा गर्न माग गरे।
२०५९ सालमा स्थापना भएको यदु स्मृति पत्रकारीता पुरस्कार हाल सम्म १६ पत्रकारलाई प्रदान गरीकिएको छ। यसपटक भने बाग्लुङका पत्रकार हरि गौतमलाई सो पुरस्कार प्रदान गरियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४