इलाम - प्रधानमन्त्री केपी शर्मा ओलीले कालो कोठामा चक्कु देखाने कम्युनिस्ट नहुने बताएका छन्। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति लक्षित गर्दै ओलीले भने, ‘हँसियाहथौडा बोकेर मान्छे मार्ने, बन्दुक पड्काउने र चन्दा माग्ने कम्युनिस्ट होइनन्।’
आज दिउँसो साढे २ बजे झापाको सिमानामा रहेको इलामको माई नगरपालिका ४ को सुखानी सहिद पार्कमा आयोजना गरिएको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्। ४६ वर्षअगाडि २०२९ फागुन २१ गते पञ्चायत शासकले हत्या गरेका पाँच सहिदको स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो । प्रधानमन्त्री ओलीले पञ्चायतमा मारिएका अन्यलाई पनि सहिद घोषणा गर्ने बताए।
सुखानीमा मारिएका झापा विद्रोहका नेताहरु रामनाथ दाहाल, विरेन राजवंशी, नारायण श्रेष्ठ, नेत्र घिमिरे र कृष्ण कुइँकेलका थुप्रै सपना पूरा भएको ओलीले बताए। ‘पञ्चायत फाल्ने, गणतन्त्र ल्याउने, कम्युनिस्ट एकता गर्ने उहाँहरुको सपनाहरू पूरा भएका छन्’ ओलीले भने, ‘अब आफूलाई सच्चा कम्युनिस्ट मान्ने अरुसँग पनि म सहिद भूमिबाट एकताका लागि आग्रह गर्छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४