काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई प्राथमिकतामा पारेका छन् ।
नागरिक दैनिकले विप्लव समुहका नेतालाई पक्राउ गर्न प्रहरीले गरेको तयारीलाई मुख्य समाचार बनाएको छ। विप्लव समुहका नेता संगठन निर्माणमा सक्रियः पक्राउ आदेश पर्खदै प्रहरी शीर्षकमा खबर लेखेको उसले गृहमन्त्रालयले स्पष्ट आदेश नदिदा प्रहरी समस्या परेको उल्लेख गरेको छ ।
मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन्। ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता रहेका स्थानबारे सूचना संकलन गरेको छ।
सुरक्षा निकाय संकलित सूचना प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा बुझाएर पक्राउ आदेशको पर्खाइमा छ। ‘माथिल्ला तहका नेताहरु कहाँकहाँ छन् भनेर हामीले दैनिक सूचना बुझाएका छौं, पक्राउ गर्न आदेश आयो भने हामी तयारीमा छौं’, उच्च सुरक्षा स्रोतले भन्यो।
स्रोतका अनुसार विप्लव समूहका प्रायः सबै नेता देशका विभिन्न भागमा घुमिरहेका छन्। उनीहरु भारत जाँदै आउँदै गरेको पनि स्रोतले जनाएको छ। देशव्यापी रुपमा संगठन निर्माण र आवश्यक रणनीति तयार गर्न विप्लव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, अनिल शर्मा, हेमन्तप्रकाश ओली र उमा भुजेलको भने भेटघाट भइरहने सुरक्षा स्रोतलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।
यस्तै साहित्य लेख्दा शब्द प्रयोगमा विचार पुर्याउनु भनि सर्वोच्च अदालतले दिएको आदेशलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको छ ।
निवेदक मीना नेपालीले ‘नथिया’ र ‘ऐलानी’ उपन्यास तथा ‘पण्डित बाजेको लौरी’ चलचित्रमा भएको संवादले वादी समुदायको आत्मसम्मानमा ठेस पुगेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र लेखक सरस्वती प्रतीक्षालगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गरेकी थिइन्।
आजको कान्तिपुर दैनिकले भने सरकारले नाकाबन्दीलाई मुख्य सुरक्षा चुनौतीका रुपमा औल्याउँदै राष्ट्रिय सुरक्षा नीति २०७५ को प्रतिवेदन तयार पारेको विषयलाई मुख्य समाचार बनाएको छ ।
प्रतिवेदनमा फेरि त्यस्तो नाकाबन्दी भएमा अपनाउनु पर्ने सुरक्षाका बारेमा उल्लेख गरिएको छ। राष्ट्रिय सुरक्षालाई सीमा सुरक्षामा मात्रै सिमित नगरि जनताको पनि सुरक्षा, लोकतन्त्र, विधिको शासन र मानव अधिकारको रक्षा पनि यसै अन्तर्गत हुनु पर्ने विषय उल्लेख भएको समाचारमा जनाइएको छ ।
यस्तै कान्तिपुरले पाथीभारमा जहिल्यै प्रतिकूल उडान शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ । समाचारमा जनाइएअनुसार पाथीभारामा भिआइपीहरुको उडान जहिले हतारोमा र मौसम प्रतिकूल भएको बेलामा हुने गरेको छ । जसले दुर्घटनाको जोखिम बढाएको छ ।
अन्नपूर्ण पोस्ट्ले भने केन्द्रको हस्तक्षेपले स्थानीय तह रुष्ट शीर्षकमा मुख्य समाचार छापेको छ । संविधानले दिएको एकल अधिकार प्रयोगमा सरकारले ‘हस्तक्षेप’ गरेको आरोप स्थानीय तहका जनप्रतिनिधिको छ । कानुन बनाउँदा शिक्षा, वन, उद्योग, स्वास्थ्यलगायतमा हस्तक्षेप भएको उनीहरुको भनाइ छ ।
स्थानीय जनप्रतिनिधिको साझा संस्था गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले स्थानीय तहको संविधानप्रदत्त अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप लगाउँदै कानुनी उपचारमा जाने चेतावनी दिएको समाचारमा उल्लेख छ ।
यस्तै सुरक्षा नीति सम्बन्धी प्रतिवेदन रक्षामन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपीशर्मा ओलीलाई बुझाएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ।
आजको नयाँ पत्रिकाले भने वीर अस्पतालमा रहेको भिभिआइपी कक्ष २९ वर्षदेखि विरामी विहिन भएको विषयलाई मुख्य समाचार बनाएको छ । भिभिआइपी कक्षमा एकै विरामीका लागि आइसियू, एसी, बाथरुमसहितको कोठा, सुरक्षाकर्मी, परिवार, आगन्तुक, डाक्टर र नर्सलाई छुट्टा छुट्टै कोठा रहेको समाचारमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४