जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाको नगराईन नगरपालिका–६ लगमामा नवनिर्मित महादेव मन्दिरको उद्घाटन गरेका छन्।
स्थानीय बब्लु झाले बुबा महेन्द्र झा र आमा त्रिवेणी झाप्रति समर्पित गर्दै निर्माण गरेको सोमनाथ मन्दिर महाशिवरात्रीको अवसर पारेर कांग्रेस उपसभापति सोमबार एक समारोहका बीच उद्घाटन गरेका हुन्। मन्दिर उद्घाटन गर्ने क्रममा उनले रुद्राभिषेकसमेत गरेका थिए।
मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै निधिले महादेव मन्दिरको स्थापना भइसकेपछि यस क्षेत्रका स्थानीयलाई पूजापाठका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताए।
धार्मिक कार्यले मानिसभित्रको नकारात्मक सोचको अन्त्य गर्ने भएकाले धर्मकर्मप्रति सबैले चासो राख्नुपर्ने उनको भनाइ थियो। कांग्रेस उपसभापति निधिले भगवान शिव नेपालको ज्वाईं रहेकोसमेत बताए। उनले भने, ‘पार्वती हिमालयकी छोरी हुन् । हिमालय नेपालमै अवस्थित छ। पार्वतीसँग विहे भएको हिसाबले शिवजी नेपालको ज्वाईं पर्नु भयो।’
स्थानीय धनवीर मण्डलको अध्यक्षतामा सम्पत्र भएको कार्यक्रममा प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, कांग्रेसका क्षेत्रीय सभापति कन्हैयालाल कर्ण, तरुण दल धनुषाका सभापति संजयलाभ कर्ण, पूर्व क्षेत्रीय सभापति धिरेन्द्रमोहन झालगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४