जनकपुरधाम – भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म आगामी वैशाख महिनाबाट रेल सञ्चालन गर्ने तयारी गरिएको छ। गत विवाहपञ्चमीबाटै रेल चल्ने बताइएपनि इन्जिनसहित आवश्यक पूर्वाधार उपलब्ध हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो।
भारतको आर्थिक सहयोगमा निर्माण भइरहेको जयनगर–जनकपुर–कुर्था रेलमार्गमा रेल सञ्चालन गर्न इन्जिन र बोगी (डब्बा) खरिद प्रक्रिया अन्तिम चरणमा पुगेकोले आगामी वैशाखबाट रेल चल्ने अनुमान गरिएको छ। नेपाल सरकारले उक्त रेलमार्गका लागि इन्जिन र बोगी आफै खरिद गर्ने प्रक्रिया अगाडी बढाएको छ।
रेल विभागका निर्देशक बलराम मिश्रले इन्जिन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। ‘रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ,’ मिश्रले भने, ‘वैशाख महिनादेखि रेल सञ्चालनमा आउने हामीले आशा गरेका छौं।’
सरकारले एक अर्ब खर्चेर भारतबाट दुईवटा इन्जिन र बोगी खरिद गर्ने तयारी गरेको बताइएको छ। रेल विभागलाई इन्जिनका साथै जनशक्तिपनि भारतबाटै ल्याउनुपर्ने बाध्यता छ। रेल गुडाउन नेपालमा दक्ष प्राविधिक नहुँदा न्यूनतम एक वर्षको लागि भएपनि भारतबाट प्राविधिक ल्याउनुपर्ने विभागका अधिकारीहरु बताउँछन्। भारतबाट आउने प्राविधिकहरुले प्रशिक्षण दिइसकेपछि आफ्नै जनशक्ति तयार हुने विभागले विश्वास लिएको छ।
यता वैशाखबाट रेल चलाउने तयारी भइरहेपनि भौतिक पूर्वाधारसम्बन्धी काम अझै पुरा हुन सकेको छैन्। ट्रयाक निर्माणसम्बन्धी कामहरु सकिएपनि स्टेशन, प्लटेफर्मजस्ता भौतिक पूर्वाधार निर्माण कार्य सम्पत्र हुनसकेको छैन्।
ठुलो सानोगरी करिब एक दर्जन स्टेशन रहेको रेलमार्गमा जयनगरबाहेक अन्य कुनै पूर्णरुपले तयार हुन नसकेको बताइएको छ। जयनगरबाहेक अन्य सबै स्टेशनहरुमा पूर्वाधार निर्माणसम्बन्धी काम अझै भइरहेको साइट इन्जिनियर विनोद ओझाले बताएका छन्। ‘ट्रयाक निर्माणसम्बन्धी सम्पूर्ण काम पुरा भइसकेको छ,’ ओझाले भने,‘कर्मचारी आवास, स्टेशन रंगरोगनजस्ता कामहरु अन्तिम चरणमा छ।’
यसअघि रहेको न्यारो गेजलाई विस्थापित गर्दै जयनगर–जनकपुर–कुर्थासम्म ब्रोडगेज रेलमार्ग निर्माण गरिएको छ। भारतीय निर्माण कम्पनी इस्कोनले ट्रयाक, प्लेटफर्मलगातका पूर्वाधार निर्माण गरेको छ।
सन् २०१४ बाट ब्रोडगेज रेलमार्ग निर्माण कार्य सुरु भएको थियो। ब्रोडगेज रेलमार्ग निर्माण कार्य सुरु भएपछि जनकपुर–जयनगर रेल सेवा विगत पाँच वर्षदेखि बन्द छल। पहिलो चरणमा जयनगर–जनकपुर– कुर्था र दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको बिजलपुरा तथा तेस्रो चरणमा बिजलपुरादेखि बर्दिवाससम्म रेल चलाउने योजना रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४