शनिबार, साउन १६, २०८३

नौ 'स' ले सधैँ सम्झाइरहनेछ भरतमोहनलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- २०५१ सालमा एमालेको अल्पमतको सरकार बन्दै गर्दा प्रमुख प्रतिपक्षमा थन्कियो नेपाली कांग्रेस। संसद्मा रहेका २०५ सांसदमध्ये एमाले नेतृत्वको सरकारले पाएको थियो एक सय ९८ मत। तत्कालीन संविधानमा संसद्मा सबैभन्दा ठूलो दलले सरकार बनाउने व्यवस्था थियो। त्यसले ३० दिनभित्र विश्वासको मत पाउनुपर्ने थियो। सोअनुसार मनमोहन अधिकारीको नेतृत्वको सरकारलाई संसद्मा उपस्थित सबै दलले विश्वासको मत दिएका थिए।

२०४८ सालको चुनावमा पूर्वी युरोपमा ढलेको कम्युनिस्ट सत्ताको प्रभाव नेपालमा समेत परेको थियो। चुनावमा कम्युनिस्टका विरुद्धका नारा थिए– कम्युनिस्टले सरकार बनाए ६० वर्ष नाघेका बूढाबूढीलाई गोली ठोक्छन्, निजी सम्पत्ति हुँदैन, मन्दिर भत्काउँछन्।

यो कुराबाट तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारी अनभिज्ञ थिएनन् । त्यसैले ती कुरा चिर्न उनले लोकप्रिय बजेट अगाडि सारेका थिए अर्थमन्त्री भएपछि। त्यसबेला गाउँमा वर्षमा पचास हजार रुपैयाँ पनि पुग्दैनथ्यो। त्यसैले उनले आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम अगाडि सारे। त्यसबेला प्रत्येक गाउँ विकास समितिले साढे दुई लाख पाउन थालेपछि एमालेको लोकप्रियता बढेको थियो। ७० वर्ष नाघेका बूढाबूढीलाई १ सय रुपैयाँ प्रतिमहिना दिने व्यवस्था तत्कालीन अर्थमन्त्री अधिकारीले गरे।

अधिकारीले गाउँको विकासका लागि नौ 'स' कार्यक्रम सञ्चालन गर्ने व्यवस्था बजेटमा गरेका थिए। स्थानीय सडक, स्वच्छ पिउने पानी, शिक्षा र साक्षरता, सुलभ स्वास्थ्य, सीपमूलक तालिम र रोजगारी, सामुदायिक वृक्षरोपण, साना जलविद्युत् विकासबाट ग्रामीण विकास, साना तथा घरेलु विकास गरी नौवटा विषयमा प्रत्येक वर्ष हरेक निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नैपर्ने भनेर नौ 'स' को अभियान चलाए अधिकारीले। नौवटा कार्यक्रम सञ्चालन गर्ने हुँदा यसको नाम नौ 'स' भएको हो ।

आर्थिक वर्ष ०५२/५३ को बजेटमा नौ 'स' को कार्यक्रम थियो । नौ 'स' को कार्यक्रम 'आफ्नो गाउँ आफैँ बनाऔँ' कार्यक्रमको निरन्तरता थियो। यो बजेटको पनि सुरुमा आलोचना भएको थियो। कतिपयले यसलाई कनिका छरेको बजेटको संज्ञा दिएका थिए।

त्यही नीति तथा कार्यक्रममा टेकेर अहिलेको शक्तिशाली मानिने दुई तिहाइ कम्युनिस्ट नेतृत्वको सरकारले पनि नीति तथा कार्यक्रम ल्याएको छ । अहिलेको सरकारले ल्याएका अधिकांश कार्यक्रम तत्कालीन मनमोहन अधिकारी नेतृत्व सरकारको पालामा अर्थतन्त्रको दिगो विकासका लागि उद्योग, व्यापार पर्यटन तथा वित्तीय क्षेत्रको प्रवद्र्धन गर्ने नीतिअनुसार आएका हुन् ।

समाजवाद उन्मुख अर्थतन्त्रको वकालत गर्दै आएका भरतमोहन नेपालको राजनीतिलाई सूक्ष्म रुपमा बुझ्ने अर्थमन्त्रीमा चिनिन्छन् । उनी २०१५ सालमा बनेको संविधानदेखि पछिल्लो २०७२ सालमा जारी संविधान निर्माणका पहरेदारसमेत हुन् । समृद्धि र विकासका पक्षपाती नेताका रुपमा चिनिने नेता अधिकारीलाई पछिल्लोपटक जिउँदो इतिहासका साक्षी भन्ने गरिन्थ्यो ।

सरकारी, निजी तथा ज्येष्ठ नागरिकको मनमा बस्न सफल अधिकारीले हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयदेखि निकट रहेर काम गरेका थिए । अधिकारी आफ्नो पार्टीभत्र मात्र नभई र समग्र राजनीतिक वृत्तमा खरो, निडर र इमानदार नेताका रुपमा परिचित थिए । पछिल्लो समय भने उनको आफ्नै पार्टीले उपेक्षा गरेको गुनासो भने उनी आफैंले गरेका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई उपेक्षा गरेर आफ्ना भावना अनुसरण नगरेकोमा भने उनी चिन्तित थिए । तथापि पार्टी राजनीतिमा दरिलो खम्बा बनिरहे । लामो समयसम्म राष्ट्रिय राजनीतिमा सक्रिय अधिकारी उपप्रधानमन्त्री, अर्थमन्त्री, यातायात तथा निर्माणमन्त्रीसमेत भए । उनी चारपटक सांसदमा निर्वाचित भएका थिए । अधिकारीले संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरेका थिए ।

राजनीतिक यात्राका क्रममा चार वर्षसम्म भूमिगत जीवन बिताएका उनले तीन वर्ष जेल जीवन बिताएका थिए। अधिकारीका 'नेपालमा औद्योगीकरणका समस्या', 'मेरो जीवनयात्रा' नामक किताब प्रकाशित छन् ।

८२ वर्षको उमेरमा निधन भएका अधिकारीको महोत्तरी जिल्लामा जन्म भएको थियो । स्थायी ठेगाना मोरङ विराटनगर रहेका अधिकारी ललितपुरको सानेपामा बस्दै आएका थिए । उनका तीन छोरी छन् । सुकुम्बासी बसोबासको विकराल समस्या समाधान गरी जनतालाई वैकल्पिक रोजगारीका अवसर उपलब्ध गराउने नीति मनमोहन अधिकारी नेतृत्वको सरकारका पालामा दिएको थियो भने सामान्यतया २४ वर्षअघि अधिकारीले अवलम्बन गरेका धेरै नीतिलाई अहिलेको सरकारले पनि प्राथमिकता दिएको छ भने त्यो समयमा विस्तार गरिएका सामाजिक सुरक्षा भत्तालगायतका कामलाई फरक मोडेलबाट अघि बढाइने उल्लेख गरिएको छ । त्यसपछि पनि अधिकारीले पटकपटकको बजेट प्रस्तुत गर्ने मौका पाएका थिए ।

उनले ल्याएको बजेटमा तल्लो तहसम्म रकमको विनियोजन हुने गरेको विज्ञहरूले बताउने गरेका छन् । नेपालको इतिहासमा कम्युनिस्ट पार्टीबाट अर्थमन्त्री बन्ने प्रभावशाली नेताको श्रेय उनै अधिकारीलाई जाने गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।