काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको तयारी पुरा भएको जनाएको छ । साध् सन्तलाई स्वागत गर्ने, भक्तजनलाई दर्शनका लागि व्यवस्था मिलाउने, विभिन्न ठाउँमा टेन्ड हाल्ने, रङ्रोगन गर्ने काम पूरा भएको कोषले जनाएको हो ।
शिवरात्रिका लागि केही दिनदेखि नै पशुपति क्षेत्रलाई रङरोगन गरेर सजाउने कार्य भएको छ । शिवको दर्शनका लागि एकादशीदेखि नै पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो उपस्थिति देखिएको छ । शिवरात्रीकै लागि भनेर नेपाल र भारतबाट चार हजार साधुसन्त तथा जोगीहरु पशुपति क्षेत्रमा भेला भइसकेको कोषका कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ ।
पशुपतिनाथ दर्शनका लागि जाने भक्तजनका लागि चारवटै ढोका खोलिनेछ । कोषका अनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड – दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट दुई लाम, जयबागेश्वरी –इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट एक लाम, बत्तीसपुतली, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान – सुमार्गी भवन अगाडि – चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुई लाम गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन गर्नेका लाम रहनेछन् ।
त्यस्तै तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकतानुसार एक लाम राख्न सकिने जनाइएको छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका समेत सुरक्षाकर्मी मेला अवधिभर परिचालन गरिने डा ढकालले बताए । भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि पशुपतिनाथको मन्दिर नजीक हुने गरी मुख्य क्षेत्रमा चिकित्सक, परिचारिका, औषधि र शय्यासहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर सञ्चालन गरिने छ । एम्बुलेन्स कुनै बेला पनि रहने गरी स्वास्थ्यसँग सम्बन्धित करीब ५० संस्थाले सेवा प्रदान गर्नेछन् ।
पशुपति क्षेत्रको वातावरण स्वच्छ बनाउन एक हप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थाननीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् । शिवरात्रिका दिन बिहानैदखि दर्शनार्थीको भीड लाग्ने हुँदा जुत्ताचप्पल व्यवस्थापनका लागि पाँच स्थान छुट्याइएको छ । त्यस्तै पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ खान र बेचबिखन गर्न निषेध गरिएको छ ।
भोजको बन्दोबस्त
साधुसन्तका लागि आवश्यक नि ःशुल्क भोजन, पानी, चिया र बसोबाससमेतको व्यवस्था मिलाइएको छ । चिसोबाट बच्नका लागि धुनी जगाउन दाउराको व्यवस्था पनि मिलाइएको कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताए ।
उनका अनुसार महाशिवरात्रि पर्वको पर्सिपल्ट एकादशीका दिन बाटो खर्चसहित साधुसन्त, जोगी–बाबाहरुका लागि बिदाइको व्यवस्थासमेत भइसकेको छ । यस्तै दर्शनका लागि अशक्त र ज्येष्ठ नागरिकलाई विशेष खालको व्यवस्था रहेको र अन्यका हकमा लाममै बसेर दर्शन गर्नुपर्ने अधिकृत ढुङ्गानाले बताए।
त्यस्तै आवास, भोजन तथा भौतिक पूर्वाधारका लागि हंसमण्डप, वनकालीको खुलास्थान, तीनगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी करीब सय संघसंस्थाले निः शुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको कोषका प्रचारप्रसार सयोजक घनश्याम उपाध्यायले बताए ।
यस्तो छ ट्राफिक व्यवस्थापन
पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा (गल्फकोर्स उत्तरतर्फ) एक, पशुपति क्षेत्र विकास कोेषको कार्यलयमा एक, महानगरीय प्रहरी वृत्त÷ट्राफिक प्रहरी प्रभाग, गौशाला एक, सिफल एक र गुहेश्वरी पारि एक गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।
त्यस्तै एअरपोर्ट, गाौशाला, चाबहिल चक्रपथमा दर्शनार्थीको चापलाई ध्यानमा राखी एकातर्फी सवारी गुड्न दिने व्यवस्थासमेत मिलाइएको कोषले जनाएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शानार्थीका लागि सहज व्यवस्था मिलाउन यस वर्ष कोषले आठ उपसमिति गठन गरी तयारी शुरु गरे थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४