जनकपुरधाम – साहित्यकला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव शनिबारबाट जनकपुरमा सुरु भएको छ। २३ फागुनसम्म चल्ने महोत्सवको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक समारोहका बीच उद्घाटन गरेका छन्।
जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन हुने महोत्सवको उद्घाटन कार्यक्रममा कांग्रेस सभापति देउवासहित उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, राजपाका उपाध्यक्ष वृषेशचन्द्र लाल, संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादव, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसाल, केन्द्रीय सदस्य रामचन्द्र झा, भाषा वैज्ञानिक डा.रामअवतार यादव, वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल, राजनीतिक विश्लेषक सीके लाललगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
मैथिली विकास कोषले आयोजना गरेको साताव्यापी महोत्सवमा नेपाल तथा भारतका साथै अफगानिस्तानको नाट्य समूहले नाटक मञ्चन गर्ने कार्यक्रम रहेको कोषका अध्यक्ष जीवनाथ चौधरीले जनाएका छन्।
महोत्सवमा भारतका कालाकारहरुले हिन्दी, भोजपुरी र मैथिली गरी तीन भाषामा नाटक मञ्चन गर्ने छन्। यसैगरी अफगानिस्तानका कलाकारहरुले आफ्नो राष्ट्रिय भाषामा नाटक मञ्चन गर्ने बताइएको छ। काठमाण्डौंबाट आउने नाट्य समूहले नेपाली र जनकपुरको टोलीले मैथिली भाषामा नाटक मञ्चन गर्ने आयोजक मैथिली विकास कोषले जनाएको छ।
यसैगरी महोत्सवमा नेपाल तथा भारतका विद्धानहरुले कला, संस्कृति, भाषा, राजनीतिलगायतका विषयमा गम्भीर छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।
यसका साथै महोत्सवमा सांस्कृतिक कार्यक्रम, लोककला, ललितकला, मिथिला भोजन एवं पुस्तक प्रदर्शनीसमेत राखिएको छ। प्रदेश सरकार गठन भइसकेको बेला प्रदेशको नामाकरण, राजधानी र कामकाजी भाषालगायतका महत्वपूर्ण विषय निर्धारण हुन नसक्दा प्रदेश २ का नागरिक राजनीतिक, भाषिक, सांस्कृतिक र सामाजिक अन्तरद्धन्द्धबाट गुज्रिरहेकोले यस्ता विषयहरुमा गहन विमर्शको आवश्यक्ता महसुस गर्दै कोषले महोत्सवको आयोजना गरेको अध्यक्ष चौधरीले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४