धनगढी – शुक्रबार राति दार्चुलाको निर्माणाधिन खलंगा–तिंकर सडक खण्ड अन्र्तगत श्रीभावर–तिमुरपाटामा दुखद् जीप दुर्घटना भयो। दुर्घटनामा परि ११ जना यात्रुले ज्यान गुमाए। ती ज्यान गुमाउने मध्ये एक थिइन् भरखरै बैवाहिक बन्धनमा बाधिएर पहिलो पटक माइति फर्किदै गरेकी २० वर्षीया स्नेहा बम।
केही दिन पहिले कन्यादान गरेर पराइघर पठाएकी छोरी पहिलो पटक माइती भेट्न आउदैछिन भन्ने खवर सुनेर माइतीमा खुशी छाएको थियो। स्नेहाका बुवा इन्द्र बहादुर बम र घरका अन्य सदस्य छोरी आउने बाटो कुरी बसेका थिए। उनी आउन लागेको खुसी माइतीमा धेरै समय टिक्न सकेन। माइतीको आगनमा टेक्न नपाउँदै स्नेहाले त्यागिन मानव चोला।
बुवा इन्द्र बहादुर छोरी ल्याउन आधाबाटो पुगेका थिए। तर, दैबले उनको छोरीलाई सदाका लागि बीचबाटोबाटै चुडेर लगेको छ। ‘म आउँदैछु बुवा आधिबाटोसम्म लिन आइरहनुहोला’ छोरीले फोनमा भनेका यी शब्द उनको बुवाका लागि अन्तिम शब्द बन्न पुगे। ती शब्द अहिलेपनि इन्द्र बहादुरको कानमा गुन्जि रहेका छन्। आधाबाटोसम्म छोरी लिन पुगेका इन्द्रले जीप दुर्घटनामा परि छोरी गुमाएको खबर सुने।
यहि फागुन ५ गते बैतडीको दोगडाकेदार गाउँपालिका–६ का दिपेन्द्र चन्दसँग स्नेहाको धुमधामका साथ बिहे भएको थियो। बिहे पछि पहिलो पटक ससुरासँग माइती घर फर्किदै गरेकी स्नेहाले मात्रै ज्यान गुमाइनन् सँगै आएका ससुरा धनबहादुर चन्दको पनि एकै ठाउँमा उड्यो प्राण पखेरो।
‘घरको जेठो छोरी बिहे गरेपछि पहिलो पटक ससुरासँगै माइती घर फर्किदै गरेको खबरले हामी खुसी थियौ’, इन्द्रबहादुरले नेपाल समयसँग फोनमा रुदै भने, ‘पापी दैबले दुबैलाई बाटैबाट चुडेर लग्यो।’
स्नेहा र धनबहादुर जस्तै उक्त जीप दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश एकैघरका सदस्य छन्। ज्यान गुमाउने कल्यानसिंह बडाल र निर्मला बडाल बाबू छोरी हुन्। यस्तै अम्मरा बम र आयुशा बम आमा छोरी रहेको बुझिएको छ। अन्य मृतक पनि एकै घरको सदस्य हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४