वीरगंज – निर्माणाधीन तयारी पोशाक प्रशोधन केन्द्रमा करिब ४ करोड रुपैयाँ लगानीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’ निर्माण गरिने भएको छ।
बाराको सिमरामा निर्माणाधीन सिमरा विशेष आर्थिक क्षेत्र अन्तर्गतको तयारी पोशाक केन्द्र (गार्मेन्ट प्रोसेसिङ जोन, जिपिजेड) भित्र संचालनमा आउने कपडा उद्योगबाट उत्सर्जन हुने फोहोर पानी प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउनको लागि ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ अर्थात् फोहोर पानी प्रशोधन केन्द्र स्थापना गर्न लागिएको हो।
वाटर ट्रिटमेन्ट प्लान्ट निर्माणको लागि विशेष आर्थिक क्षेत्र प्राधिकरणले गत वर्ष कात्तिक अन्तिम साता सार्वजनिक बोलपत्र आह्वान गरेकोमा हालै मात्र निर्माण कम्पनीको चयन गरेको छ। प्राधिकरणले भ्याट बाहेक ४ करोड १० लााख ३७ हजार रुपैयाँमा निर्माणको लागि सिएबि भिमेश्वर जेभी सूर्य विनायक निर्माण कम्पनीलाई ठेक्का दिने तयारी गरेको छ।
ठेक्का सम्झौताको लागि सम्पर्क गर्न निर्माण कम्पनीलाई आह्वान गरिसकेका छौं, सेज परियोजनाका इन्जिनियर अर्जुन पाण्डेले भने, चाँडै नै निर्माण समझौता गर्ने तयारी छ ।
इन्जिनियर पाण्डेका अनुसार प्रतिदिन ३ लाख ६० हजार लिटर पानी प्रशोधन क्षमताको प्लान्ट जडान गर्न लागिएको हो।
प्रशोधन गरिएको पानी उद्योगले पुनः प्रयोग गर्न वा पोशाक केन्द्र सँगै जोडिएर बग्ने पसाहा नदीमा मिसाउन सकिने प्राविधिकको भनाई छ।
तयारी पोशाक उद्योगले पोशाकको कपडा धुन, कपडा रंगाउनलगायतको काममा ठूलो मात्रामा पानी र रंगको प्रयोग गर्नुपर्छ। एक पटक प्रयोगमा आइसकेको पानीमा रसायन र रंग मिसिने भएकोले पानी फोहोर हुन्छ। पानी प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउन सकेको अवस्थामा पानीको प्रयोग नियन्त्रण गर्न र वातावरणीय प्रदूषण नियन्त्रण गर्न सहयोग पुग्छ।
तयारी पोशाक प्रशोधन उद्योग का अनुसार एउटा जिन्स पाइन्टको लागि कपडा रंगाउन देखि लिएर तयारी पाइन्ट धोएर सुकाउँदा सम्म ३ लिटर ७५ मिलिलिटर पानी आवश्यक हुन्छ।
सिमरामा उद्योग मन्त्रालयले प्राधिकरणमार्फत ३०० बिघा क्षेत्रफल जग्गामा तयारी पोशाक प्रशोधन केन्द्रको निर्माण गरिरहेको छ। करिब २ अर्ब ५० करोड रुपैयाँको लगानीमा केन्द्र परिसरको पर्खाल, जग्गा विकास, प्रशासनिक भवन, प्राथमिक स्वास्थ्य केन्द्र, विद्युत आपूर्ति केन्द्र, आन्तरिक सडक, ढल, पेटी लगायतको कार्य भइरहेको छ। संचालनमा आएपछि यो देशकै पहिलो तयारी पोशाक प्रशोधन केन्द्र हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४