वीरगन्ज – नेपाल–भारतबीचको पहिलो पेट्रोलियम पाइपलाइन निर्माण कार्यलाई गति दिनको लागि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको रुख काट्ने काम सुरु भएको छ।
बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोदेखि पूर्व पश्चिम राजमार्गको सिमरा स्थित तराई यातायात व्यवसायी संघको कार्यालय नजिकैसम्म करिब नौ किलोमिटर दूरीमा पाइप ओछ्याउन करिब १४ हजार रुख कटान गर्न लागिएको हो।
अमलेखगंजदेखि भारतको सीमावर्ती शहर रक्सौलसम्म ३९ दशमलव २० किलोमिटर लामो पाइपलाइन निर्माण कार्य जारी रहेको छ। यो मध्ये पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने नौ किलोमिटर दूरीमा मात्र जमिनमुनि पाइप ओछ्याउने काम बाँकी छ।
मन्त्री परिषदबाट निकुञ्ज क्षेत्रको रुख कटान गर्न गत महिना मात्र स्वीकृति प्रदान गरिएको थियो। रुख कटानको काम अहिले टिम्बर कर्पोरेशन मार्फत हुँदैछ।
पथलैयाबाट त्रिभुवन राजमार्गको पश्चिम छेउ हुँदै वीरगंजको गण्डकस्थित शहीद तेजबहादुर अमात्यको शालिक पुर्याइएको पाइपलाइन पुनः बाइपास सडक छेउ हुँदै रजत चोक पुर्याइएको छ । त्यसपछि पुनः त्रिभुवन राजपथमा प्रवेश गराएर सीमावर्ती रक्सौल नाका जोडिएको छ।
यसैगरी भारतको बिहार राज्य अन्तर्गतको पूर्वी चम्पारणको मोतिहारीस्थित भारतीय आयल निगमको इन्धन टर्मिनलबाट रक्सौलसम्म ३३ दशमलव ७ किलोमिटर दूरीमा समेत पाइपलाइन निर्माण कार्य धमाधम भइरहेको नेपाल आयल निगमले जानकारी दिएको छ।
निगमका अनुसार भारततर्फ समेत करिब ३० किलोमिटर दूरीमा पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ। अब ३.५ किलोमिटर दूरीमा पाइप ओछ्याउने कार्य बाँकी रहेको छ।
पाइपलाइन आयोजना प्रमुख प्रदीप यादवले ४५ दिनभित्र सबै रुख काटिने र आगामी वैशाखबाटै पाइपलाइन सन्चालनमा आउने जानकारी दिए।
पहिलो चरणमा रक्सौलस्थित भारतीय आयल निगमको इन्धन डिपोबाट पाइपलाइन मार्फत् भारतीय आयल निगमले डिजल आपूर्ति गर्ने तयारी भइरहेको छ।
पाइपलाइन मार्फत इन्धन आयात शुरु भएपछि ढुवानी लागत कटौती गर्न र ट्यांकर चालक, ट्यांकर मालिक र निगमका कर्मचारीको मिलेमतोमा हुँदै आएको इन्धन चोरी समेत नियन्त्रणमा आउने विश्वास गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४