धनगढी- ११ यात्रुको ज्यान जाने गरी शुक्रबार राति दार्चुलामा भएको जिप दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयले यात्रुसहित गाडी चलाउन प्रतिबन्ध लगाएको निर्माणाधिन खलंगा–तिंकर सडक खण्ड अन्र्तगत श्रीभावर–तिमुरपाटामा चालकले यात्रुसहित रातीको समयमा गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । निकै अफ्ठेरो चट्टानी भागको करिव साढे दुई किलोमिटर दुरीमा गाडी नै नचलाउने र चलाउनै परे यात्रु ओरालेर खाली गाडी चलाउनु पर्ने निर्णय सर्वपक्षिय बैठकले गरेको थियो । तर, चालकले यो नियम पालन नगर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट दार्चुलाका प्रमुख प्रहरी सहायक निरीक्षक भानसिंह नगारीले जिप चालकले मनोमानी ढंगले ट्राफिक नियमको उलंघन गर्दै गाडी चलाउँदा दुर्घटना भएको बताए । ‘त्यो सडक खण्डमा बेलुकी छ बजे पछि गाडी नै चलाउन नपाईने निर्णय भएको छ’ नगारीले भने–‘निकै जोखिमपूर्ण सकड, एक त रातीको समय त्यसैमा क्षमाता भन्दा बढी यात्रु बोकेको देखियो ।’
पहाडी भू–भागमा चल्ने बलेरो जीपमा यात्रुका लागि पाँच सिट मात्र स्वीकृत छ । उक्त जीपले पछाडीको सामान बोक्ने भागमा पनि यात्रु राखेको देखिएको छ ।
शुक्रबार जीप दुर्घटना भएको स्थानमा नै केहि दिन पहिले दुई पैदल यात्रु र एक सय बढी भेडा बाख्रा मरेका थिए । ट्राफिकका अनुसार उक्त सडक खण्डमा १० वटा जीप दैनिक रुपमा चल्ने गर्दछन् । जस मध्ये पाँच वटा जीपले सदरमुकामबाट श्रीवगर सम्म यात्रु लग्ने र त्यहि ओरालेर पैदल तिमुरपाटा सम्म जानु पर्ने अवस्था छ । त्यहाँबाट दुहु सम्म अन्य पाँच जीपले यात्रु बोक्ने गर्दछन् ।
चालकले रातीको समय सबैको आखाँ छलेर क्षमाता भन्दा बढी यात्रु बोक्दा ठूलो मानविय क्षति भएको नागरीले सुनाए । उनले जिल्लामा आफू पुगेपछि नियम विपरित १३–१४ यात्रु बोक्ने बलेरो जीपको पछाडी राखिएका सिट र हुट पुरै हटाएर पाँच सिटमा मात्र झारेको जानकारी दिए । केहि चालक र मालिकले ट्राफिकको आँखाँ छलेर क्षमाता भन्दा बढी यात्रु बोक्दा दुर्घटना हुने गरेको उनले बताए ।
महाकाली यातायात समितिका दार्चुला सचिव सर्प बडुले शुक्रबार दुर्घटना भएको जिप आफूहरुको समितिमा आवद्ध नभएको जानकारी दिए । उक्त जीप आठ–नौ महिना देखि नै मनोमानी ढंगले चल्दै आएको र शुक्रबार उनले सबै नियमहरु मिचेर चलाउदा दुर्घटना हुन पुगेको बताए ।
जिल्ला सदरमुकाम खलंगाबाट दुहु गाउपालिका–२ को हिकिलातर्फ गैरहेको म १ ज २८० नम्बरको जीप दुहु–३ राताकाठा नजिक भीरमा राती सवा ८ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा परी जीपमा सवार चालक वाहेकक सबै ११ यात्रुले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेहरुको नामावली -
दुहु गाउँपालिका–२ का ४१ बर्षीय कल्यानसिंह बडाल
बडालकी छोरी १७ बर्षीया निर्मला बडाल
सोहि ठाउँका ३५ बर्षीया परुली धामी
वडा नम्बर १ का ४३ बर्षीय धनबहादुर बम
सोहि ठाउँका ५१ बर्षीय गोमती बम
सोहि ठाउँका ४८ बर्षीय धना बम
सोहि ठाउँका ५५ बर्षीया मानमती भट्ट
वडा नम्बर ४ का ३८ बर्षीय अम्मरा बम
सोहि ठाउँका ८ बर्षीया आयुशा बम
बैतडीको दोगडाकेदार गाउपालिका–६ का ६० बर्षीय धनबहादुर चन्द
सोहि ठाउँका २१ बर्षीया स्नेहा बम
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४