'हेलिकोप्टर दुर्घटना हुनुभन्दा एक दिनअघिको कुरा हो । म छिरिङलाई लिन उसकै घर बालुवाटार पुगेँ । मेरै गाडी चढेर हामी गफ गर्दै गल्फ क्लब गयौँ। भोलिपल्ट बाहिर जानु छ भन्दै थियो ऊ । सधैँ हिँडिरहने मान्छे। मैले पनि कहाँ किन भनेर धेरै सोधिनँ। सधैँजस्तो खेल्यौं र रमाइलो गफ गर्यौं ।
सायद त्यही न ऊसँगको अन्तिम भेट भयो मेरा लागि । अहिले पनि त्यो दृश्यले पलपलमा पोलिरहेको छ मलाई । ऊसँग खेलेका, रमाएका र हाँसेका प्रत्येक दृश्य अहिले पनि मेरो आँखा सामुन्ने झलझली घुमिरहेका छन् । आफूलाई समाल्न पनि मलाई गारो भइरहेको छ। मलाई अझै लाग्छ, छिरिङ कतै छ, ऊ फेरि आउँछ 'हेलो गोपाल दाइ' भन्दै ।'
यति भन्दै गर्दा गोपाल चित्रकारले आफूलाई समाल्न सकेनन् । उनी भक्कानो छोडेर रुन थाले ।
वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार दिवंगत पर्यटन व्यवसायी आङछिरिङका घनिष्ठ मित्र हुन् । नेपाल समयले नेपाल ललितकला प्रतिष्ठानमा शुक्रबार दिउँसो भेट्दा उनका आँखा अझै ओभाएका थिएनन्। ताप्लेजुङमा फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा छिरिङको पनि मृत्यु भएको थियो ।
गोपाल भन्छन्, 'जीवनमा यति धेरै दुःखी कहिल्यै भएको थिइनँ ।' गल्फबाट जोडिएको गोपाल र छिरिङको मित्रता साँच्चिकै गजबको थियो। छिरिङले छोडेर गए पनि त्यो मित्रता मर्ने छैन र अमर रहनेछ ।'
२५ वर्षअघि छिरिङसँग भेट्दाका सुरुका दिन सम्झिन्छन् गोपाल अनि भावुक हुन्छन् ।
'गल्फ खेल्ने क्रममा ऊसँग भेट भयो । ऊ निकै रमाइलो मान्छे, मसँग छिट्टै घुलमिल भयो । छोटो समयमै हामी यति घनिष्ठ भयौं कि न मबिना रमाउन सक्थ्यो न त म ऊबिना रमाउन सक्थे, गोपाल भन्छन्, 'घरपरिवार र व्यवसायभन्दा हाम्रो मित्रता निकै प्रिय थियो । हामीबीच लुकेको केही छैन।'
सुरुमा काठमाडौंमा एउटै मात्र रोयल गल्फ क्लब थियो। 'हामी दैनिकजसो नै त्यहाँ जान्थ्यौं। गल्फले हाम्रो मित्रतालाई यति गहिरो बनाइदियो कि कसैले ठूलो घर दिन्छु, गल्फ छोड भने पनि घर छोड्छु तर गल्फ छोड्दिनँ भन्ने अवस्था बनिसकेको थियो, गोपाल ती दिन यसरी सम्झिन्छन्।
गोपालको बुझाइमा छिरिङ आममान्छे भन्दा फरक व्यक्ति हुन् । संघर्षबाट.कहिल्यै विचलित नहुने, परिश्रममा सधँै रमाउने साहसी र निकै मिलनसार व्यक्ति हुन् । एउटा भरियाबाट करिअर सुरु गरेका उनले चार दशकको संघर्षसँगै पर्यटन जगत्मा एउटा बेग्लै साम्राज्य खडा गर्न सफल भए ।
डनबिनाको जमघट खल्लो
गोपालकै शब्दमा छिरिङ निकै बोल्ड तर रसिक मान्छे।उसले आँटेको कुरा पूरा गर्थ्यो, गर्थ्यो। समयअनुसार ऊ चल्न सक्थ्यो । ऊ कसैको पनि नराम्रो वा कुभलो सोच्दैनथ्यो। साथीभाइसँग मिल्ने र नरिसाउने स्वभाव थियो उसको । यही स्वभाव र क्षमताले गर्दा ऊ पर्यटन व्यवसायमा एउटा हस्तीका रुपमा स्थापित भयो ।'
गोपालका अनुसार छिरिङ सबैको बेस्ट फ्रेन्ड थिए । साथीहरुसँगको जमघट छिरिङबिना सम्भव थिएन । छिरिङबिनाको जमघट खल्लो हुन्थ्यो। गोपाल भन्छन्'जुनसुकै क्षेत्रमा हात हाले पनि सफलता हासिल गर्ने भएकाले हामीले उसलाई डन भनेर पनि जिस्काउने गथ्र्यौं । पर्यटन व्यवसायमा ऊ डन नै थियो । डन छैन भनेर हामी पार्टी क्यान्सिल गथ्र्यौं ।'
'ग्राउन्ड लेभलबाट उठेको मान्छे ऊ । सोलुजस्तो गाउँमा जन्मेका मान्छे सहर पसेर यत्रो साम्राज्य खडा गर्नु मामुली कुरा होइन, गोपालले भन्छन्, उसको सफलता र संघर्षबाट हामीले सिक्नुपर्ने कुरा धेरै छन् । मैले उसलाई पटकपटक तिमी बायोग्राफी लेख भन्थेँ । 'किन लेख्ने दाइ,काम गर्न धेरै बाँकी छ भन्थ्यो । उसको जीवन र संघर्ष एउटा किताबजस्तै छ । त्यसलाई लिपिबद्ध गर्नैपर्छ।पर्यटन क्षेत्रमा छिरिङले दिएको योगदान अतुलनीय छ। इतिहासले त्यसको अझ राम्रोसँग मूल्यांकन गर्नेछ। मैले एउटा प्रिय मित्र गुमाए। सिंगो मुलुकले एउटा असल व्यवसायी गुमाएको छ।'
छिरिङले के मात्रै गरेनन् ? अरु पुग्न नसकेको ठाउँमा उनी पुग्थे । अरुले गर्न नसकेको आँट उनले गर्थे । डाँडाकाँडामा होटेल बनाउने, त्यहाँका मानिसलाई रोजगारी प्रदान गर्ने जस्ता थुप्रै काम उनले गरेका छन् ।
गोपालको बुझाइमा जुन काममा छिरिङले हात हाल्यो, त्यहाँ उनी निरास र असफल भएनन् । उनी भन्छन्, 'ट्राभल्स, होटेल, एयरलाइन्स, हाइड्रो, इन्सोरेन्स सबैमा ऊ सफल थियो । छिरिङ अझै दस वर्ष हामीसँग हुन्थ्यो भने उनले पर्यटन क्षेत्रलाई थप अर्को उचाइमा पुराउँथ्यो होला। ऊसँग त्यो सपना र अठोट थियो ।'
'त्यति ठूलो व्यावसायिक सञ्जाल र कारोबार समालेका छिरिङ निकै शालीन र शान्त थियो। कहिल्यै हडबडाएको देखिएन। न उसको अनुहारमा कहिल्यै तनाव देखियो।ऊ सधैँ फ्रेस र कुल देखिन्थ्यो, , गोपाल भन्छन्, ' एकपल्ट गल्फ खेल्दा चार देखि पाँच घन्टा आरामले बित्छ । कहिलेकाँही छ सात घण्टा पनि लाग्छ । छिरिङ बिना तनाव हतार नगरीकन खेलमा घन्टौं रमाउँथ्यो । खेल होस् वा अरु जुनसुकै काम होस् ऊ पूरै मनबाट गथ्र्यो ।'
गाउँको मान्छेले केको एयरलाइन्स खोल्ने !
एयरलाइन्स खोल्ने क्रममा एउटा रोचक प्रसंग छ। एयरलाइन्स खोल्ने तयारी गरेपछि छिरिङले सल्लाह लिन गोपाललाई भेटेछन् । गोपाल सम्झिन्छन्,'एयरलाइन्स खोल्नुपर्यो दाइ भनेर छिरिङ आयो । मैले तिमी गाउँको मान्छे किन यस्तो नचाहिने काम गर्छौ भनेर झपारे पनि । तर पछि उसले उल्टै मलाई सम्झायो, यो गर्नुपर्छ गोपाल दा, यसमा भविष्य छ । नभन्दै उसले एयरलाइन्स व्यवसायमा हात हाल्यो, हात मात्रै हालेन उसले साम्राज्य नै खडा गर्यो। आज मुलुककै सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी बन्न सफल भएको छ । उसले खोलेको यती एयरलाइन्स अनि तारा एयर।'
गोपालका अनुसार छिरिङ आफ्नो काममा निकै फोकस हुन्थे। बाहिरका धेरै कुरा उसले सुन्दैनथ्यो। सेल्फ ड्राइभ गर्ने बानी थियो उसको । सम्भवै नभएको ठाउँमा पनि छिरिङले बिउ रोपेको छ अनि फलाएर बाँडेर खुवाएको छ।
लुक्ला पुगेर गल्फ बल हान्ने, सगरमाथा ब्याक ग्राउन्ड बनाएर फोटो खिच्ने जस्ता धेरै रोचक र अविस्मरणीय पल अहिले गोपालको दिमागमा घुमिरहेका छन् । एभरेस्ट ब्याक ग्राउन्डमा गल्फ बल हान्दै गरेको आङछिरिङ शेर्पाको फोटो टाइम्स अफ इन्डियाले फ्रन्ट पेजमै छोपेको थियो । 'यो हरेक नेपालीका लागि गर्वको विषय हो', गोपाल भन्छन् ।
भरियाबाट अर्बौंको साम्राज्य
भरियाबाट संघर्ष गरेर अर्बौंको साम्राज्य खडा गरेका व्यवसायी छिरिङको सफलता कथा अभूतपूर्व छ। कुनै बेला उनी पर्यटकका भरिया थिए। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१, पाङ्गोमको विपन्न परिवारमा जन्मिएका आङछिरिङका तीनै दाजुभाइ हिमाल आरोहणमा सामेल थिए।
पर्यटकलाई घुमाउने, भारी बोक्ने र हिमाल चढाउने काम गर्थे उनीहरु । दाजुभाइले आफ्नो कामलाई व्यवसायका रुप दिएर २०४५ सालमा थामसेर्कु ट्रेक तथा एक्सपेडिसन कम्पनी खोले। त्यसपछि देशकै नम्बर वान ट्रेक तथा एक्सपेडिसन कम्पनी बन्न सफल भयो। अहिले पर्यटन क्षेत्रमा आङछिरिङले जुन साम्राज्य खडा गरेका छन् । त्यसको जग थामसेर्कु ट्रेक नै थियो।
त्यसपछि शेर्पा दाजुभाइले पर्यटन क्षेत्रका अन्य व्यवसायमा पनि हात हाले र सफलता चुम्दै गए। त्यसको नेता वा अगुवा थिए आङछिरिङ। गोपाल भन्छन्, 'छिरिङसँग सपना देख्ने क्षमता र त्यसलाई साकार पार्ने आइडिया र आँट थियो।'

छिरिङले यती वल्र्ड नामक होल्डिङ कम्पनी खडा गरेर त्यसैअन्तर्गत आफ्नो व्यावसायिक साम्राज्य विस्तार गर्दै आएका थिए। यती वल्र्डमा ३० वटा कम्पनी छन्। यी कम्पनीमा करिब तीन हजारले रोजगारी पाएका छन् भने करिब ५० अर्बको व्यावसायिक सञ्जाल रहेको अनुमान गरिएको छ।
अहिले शेर्पा परिवारको स्वामित्वमा एयरलाइन्सदेखि ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी र होटल तथा रिसोर्ट सञ्चालनमा छन्। सुपरमार्केट र जलविद्युत् क्षेत्रलगायतका क्षेत्रमा उनीहरुले लगानी विस्तार गरेका छन्।
छिरिङको स्वामित्वमा दुई एयरलाइन्स छन् यती र तारा। यती एयरले सुगम क्षेत्रमा उडान गर्दै आएको छ भने तारा एयरले दुर्गममा स्थानमा उडान सञ्चालन गर्दै आएको छ। सन् १९९८ मा स्थापित यती एयरसँग ३ एटिआर र ६ जेट स्ट्रिम गरी ९ वटा जहाज छन्। यती एयरलाइन्स आन्तरिक उडानमा मुलुककै एउटा ठूलो र विश्वसनीय कम्पनी हो। तारा एयरसँग ६ वटा जहाज छन्। पछिल्लो समय आङछिरिङले अन्तर्राष्ट्रिय एयरलाइन्समा समेत आफ्नो संलग्नता विस्तार गर्दै अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्समा ५१ प्रतिशत सेयर लगानी छ।
नेपाल आउने पर्यटकलाई घुमाउने र बसाउने सुविधा दिन उनले विभिन्न ठाउँमा होटल तथा रिसोर्ट खोलेका छन्। राजधानीको गोकर्ण फरेस्ट रिसोर्ट लिजमा छिरिङले नै चलाएका छन् भने चितवनमा कसरा रिसोर्ट र लुम्बिनीमा होके रिसोर्ट उनकै स्वामित्वमा छ। जुनजुन स्थानमा आफ्ना जहाजले बढी उडान गर्छन् । उनले त्यहाँ होटल तथा रिसोर्ट सञ्जाल विस्तार गरेका छन्।
पर्यटकको चाप बढी हुने पदयात्रा मार्गमा पनि शेर्पा परिवारले आफ्नो होटल सञ्जाल विस्तार गरेका छन्। सगरमाथा क्षेत्रमा यती माउन्टेनको सञ्जालअन्तर्गत ६ होटल सञ्चालित छन्। त्यसैगरी अन्नपूर्ण क्षेत्रमा पनि केर एन्ड ड्वेनी नेपालका होटल सञ्जाल छन्। यो क्षेत्रमा उनका पाँचवटा होटल छन्। पदयात्रा र हिमाल आरोहणको प्रबन्ध मिलाउन थामसेर्कु ट्रेक तथा एक्सपेडिसन कम्पनीका अतिरिक्त यति एड्भेन्चर पनि सञ्चालित छ। कोरा टुर र यती होलिडेजका नामबाट ट्राभल एजेन्सी पनि चलिरहेका छन्।
पर्यटन व्यवसायमा उत्साहका साथ उदाएको शेर्पा परिवारलाई अब आङछिरिङको अभाव निकै खट्किनेछ। गोपाल भन्छन् 'यो सबै साम्राज्यको सूत्राधार नै छिरिङ थियो। जो अब छैनन् ।'
तस्बिर सौजन्य- गोपाल चित्रकार
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४