शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनुभवी क्याप्टेन भन्छन्, पाइलटलाई प्रेसर दिँदा दुर्घटना !

अनुभवी क्याप्टेन भन्छन्, पाइलटलाई प्रेसर दिँदा दुर्घटना !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाए । नेपालमा पछिल्लोपटक बढिरहेको हवाई दुर्घटना शृंखलामा एउटा दुःखद घटना हो यो । यसले सिंगो मुलुकलाई तरंगित गर्‍यो । दुर्घटना छानबिनका लागि समिति गठन भएको छ । त्यसले अध्ययन गरेर रिपोर्ट दिनेछ। तर यसका सम्भावित कारण र पृष्ठभूमिबारे विज्ञहरुबाट विभिन्न अनुमान र तर्क आइरहेका छन् ।

त्यही क्रममा नेपाल समयले झन्डै चार दशक लामो उडान अनुभव भएका क्याप्टेन गंगाप्रसाद रिजालसँग कुराकानी गरेको छ । बुधबारको हेलिकोप्टर दुर्घटनाको सन्दर्भमा केन्द्रित भएर उनीसँग गरिएको कुराकानी उनकै शब्दमा-

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनाबाट सात जनाको अत्यन्तै दुखद मृत्यु भयो । यसै विषयमा मिडियाले घटनाको कारण खोज्नु आफँैमा महत्त्वपूर्ण हो । यो घटना छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । सत्यतथ्य ल्याउने जिम्मा पनि त्यही समितिकोे भएकोले त्यस विषयमा अहिले नै बोल्नु उचित हँुदैन ।

तर बाहिर आएको अनुमान र चर्चाका बारेमा केही कुरा राख्न सकिन्छ । मेरो मनसाय छानबिन प्रभावित गर्ने भने होइन । जहाँसम्म पाइलटलाई दबाब दिँदा पनि जहाज दुर्घटना हुन सक्ने र ताप्लेजुङको हेलिकोप्टर दुर्घटनामा पनि त्यही भएको हुनसक्ने चर्चा भइरहेको छ । त्यसबारेमा मसँग केही रोचक अनुभव छन् ।

मैले पनि त्यो सुनेको कुरा हो तर मेरो स्वभावले पनि होला अहिलेसम्म मैले त्यस्तो दबाब अनुभव गर्नु परेन । सायद मैले कसैको प्रेसरमा जहाज उडाउँदिनँ भन्ने जानकारी पाएरै होला त्यस्तो अनुभव मैले भोग्नु नपरेको। त्यसैले होला ४० वर्ष देश विदेशमा सफल रुपमा उडान गरियो।

नेता, मन्त्री तथा अरु भिभिआइपीले कतिपय बेलामा यस्तो प्रेसर दिन्छन् । तर त्यसबाट विचलित भएर व्यावसायिक क्षमता र प्राविधिक दक्षतासँग कम्परमाइज गर्नुहुँदैन। खराब मौसम छ भने जति प्रेसर दिए पनि उडाउन मिल्दैन । ताप्लेजुङ दुर्घटनामा ठ्याक्कै के भएको हो, त्यो छानबिनपछि आउला।

पाइलटलाई कसरी प्रेसरमा पारिन्छ भन्ने म एउटा अनुभब बताउन चाहन्छु । केहि वर्ष पहिलाको कुरा हो । भदौ महिना थियो । लगातारको वर्षा रोकिएको थिएन । त्यो बेला मैले नेपाल एयरलाइन्सको टुइनअटर चलाउँथे । नेपाल एयरलाइन्सका अर्का पाइलट साथीले चलाएको जहाजमा मन्त्री सवार रहेछन् । टुइनअटर विमान  नेपालगन्ज जानुपर्ने थियो । एकाएक मौसम खराब भएकाले जहाज उड्न सक्ने अवस्था थिएन । पाइलटलाई मन्त्रीले जहाज उडाउन एक किसिमको दबाब दिनु भएछ ।
 
 'यति डर लाग्यो कि मन्त्रीजीको होसहवास नै उडेको थियो ।  मैले त आजै अन्तिम दिन भयो भनेर चारपटक हनुमान चालिसा पढेँ । तर हजुरले राम्रोसँग ल्याउनुभयो । मौसम खराब भए आज नजाऔँ है ।'

पार्टी कार्यक्रममा हिँडेका मन्त्रीलाई उताबाट कार्यकर्ताले पनि घाम लागेको भन्दै खबर गरेपछि चल्ताफुर्ता मन्त्रीलाई के चाहियो ? अनि काठमाडौंको मौसम केही खुलेपछि ती पाइलटले नेपालगन्जका लागि जहाज उडाए । जहाज थानकोटको डाँडा पार गर्न लाग्दै रहेछ । मौसम झनै खराब भएकाले जान सक्ने अवस्था भएन र जहाज त्रिभुवन विमानस्थलमा फर्काइयो । काठमाडौं ओर्लेपछि ती मन्त्री र उनका कार्यकर्ताले पाइलटलाई निकै सत्तोसराप गरे । एउटा पाइलटलाई बिनाआधार सराप दिँदा मलाई सारै दुःख लाग्यो ।

उहाँहरुले पाइलटलाई डेटिङ जान परिवारसँग बस्न नपाएर बीचबाटै फर्कायो सम्मका आरोप लागाउनुभयो । संयोगले भोलिपल्ट त्यो जहाज मैले उडाउनुपर्ने भयो । जहाजका यात्रु अघिल्लो दिनकै मन्त्रीलगायत उहाँका कार्यकर्ता थिए ।  काठमाडौंको मौसम केही सफा भएकाले मैले जहाज उडाएँ । म पाल्पाको डाँडा माथि पुग्दा एकाएक मौसम खराब भयो । भिजिबिलिटी एकदमै कम थियो । मैले यसअगाडि धेरै पटक काठमाडौं, नेपालगन्ज, धनगढीलगायत पश्चिमी विमानस्थलमा धैरै पटक जहाज उडाएकाले कतापट्टि लाग्दा के हुन्छ राम्ररी थाहा थियो ।

पाल्पाको डाँडोमाथि पुग्दा एकाएक मौसम बिग्रिएपछि सोही रुटमा जाँदा अर्घाखाँची र प्युठानका अग्ला पहाडमा जहाज ठोक्किने सम्भावना बढी हुन्थ्यो । मैले एकाएक रुट चेन्ज गरेँ र दक्षिणतर्फबाट जाने निधो गरेँ । मलाई त्यो रुटको राम्रो जानकारी थियो । जहाजलाई मैले तराईको मैदानबाट अगाडि बढाउने निधो गरेँ । जहाज रुपन्देही सिमाना हुँदै कपिलवस्तु तराई भूमि हुँदै अगाडि बढिरहेको थियो । भिजिबिलिटी कम थियो । सामान्य यताउता हुँदा जहाज पहाडमा ठोक्किने सम्भावना थियो । मैले तराईको फाँट हुँदै जहाज अगाडि बढाएँ । धेरै तल जाँदा जहाज रुखमा ठोक्किने र उचाइमा उडाउँदा पहाडमा ठोक्किने डर थियो । जहाजको हावाले तराईको खेतमा धान हल्लिएको राम्ररी देखिन्थ्यो ।



मन्त्रीजी म पछाडिको सिटमा हुनुहुन्थ्यो । मौसम खराबका कारण जहाज तल र माथि गर्नुपर्ने थियो । मैले सुझबुझसाथ जहाज उडाइरहेको थिएँ । मन्त्रीजीले यो सबै देख्नुभएको थियो । डरले उहाँको होसहवास उडेपछि एयर होस्टेजलाई सोध्नुभएछ । उनले कक पिटमा आएर मलाई सोधिन्, मन्त्रीज्यूले सोध्नुभएको हामी कहाँ आयौ ? हिजो मन्त्रीज्यूले पाइलटलाई बिना आधार आरोप लगाएको मैले सम्झिरहेको थिएँ । मेरै पछाडि बसेका मन्त्रीलाई सुनाउने उद्देश्यले मैले झोक्किएर थाहा छैन भन्ने जबाफ फर्काएँ । तर मैले जहाज सही ट्रयाकमा अगाडि बढाइरहेको थिएँ । मन्त्रीको होसहवास उडेछ ।

नेपालगन्जमा सहज रुपमा जहाज अवतरण भयो । मन्त्री, सांसदलगायत जहाजमा कार्यकर्ता मात्र रहेछन् । जहाजबाट ओर्लेपछि सबै आआफ्नो गन्तव्यमा अगाडि बढे । संयोगबस त्यसको तीन दिनपछाडि नेपालगन्जबाट काठमाडौं उड्ने मैरै पालो परेको थियो । यात्रु थिए तिनै मन्त्री, सांसदसहितका कार्यकर्ता । ती मन्त्रीले मेरै नजिक आएर भने, 'क्याप्टेनसाप् मौसम खराब भए नउडौँ ।' मैले ठिक छ आजको मौसम भनेँ । त्यसपछि दाङका तत्कालीन सांसद मेरै नजिकै आए र भने, 'बाफरे बाफ क्याप्टेनसाप् अस्ति आउँदा यति डर लाग्यो कि मन्त्रीजीको होसहवास नै उडेको थियो ।  मैले त आजै अन्तिम दिन भयो भनेर चारपटक हनुमान चालिसा पढेँ । तर हजुरले राम्रोसँग ल्याउनुभयो । मौसम खराब भए आज नजाऔँ है ।'

आकाशमा उडेको जहाजमा सधँै एकै प्रकारका समस्या आउँदैनन् । तपाईं हेर्नुहोस् हवाई दुर्घटनाका कारण फरकफरक छन । पाइलट आफूभन्दा बढी यात्रुलाई सहज रुपमा कसरी अवतरण गराउने भनेर चिन्तित हुनुपर्छ र त्यसको मूल्यांकन पनि आफैँले गर्नुपर्छ । दबाबमा जहाज उडाउनु भनेको दुर्घटना निम्त्याउनु हो । त्यसैले पाइलटलाई दबाब दिनु र लिनु हुँदैन ।

आजभन्दा १० वर्षअगाडि ताप्लेजुङमा तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ जनाको हवाईजहाज दुर्घटनामा मृत्यु भयो । दसैँको अघिल्लो दिन भएको उक्त दुर्घटना भोलिपल्टको दसैँको टीका लगाउन काठमाडौं आउन पाइलटलाई दबाब दिइएको भन्ने सुनियो । यो सत्य हो भने दबाब दिनेकै ज्यान जोखिममा हुने भएकाले दबाब दिनु गलत हो ।

नेपालमा हवाई दुर्घटनापछि सरकारले छानबिन समिति गठन गर्छ । तर त्यसको सत्यतथ्यभन्दा पनि मरेका पाइलटलाई दोष देखाई उम्कने प्रयास गरिन्छ । यसले समस्या झन् बढ्छ । घटना सत्यतथ्य बाहिर ल्याए त्यसबाट पाइलटले पाठ सिक्न सक्छ र सबैलाई चेताना पनि हुन्छ। तर विडम्बना ! हाम्रो देशमा यो हुन नसक्दा अनाहकमा नेपालीले ज्यान गुमाइरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।