बागलुङ- बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा एक ब्यक्तिले श्रीमतिले तरकारी ढिलो पकाएको भन्दै गोली प्रहार गरेका छन् ।
दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले २५ वर्षीय श्रीमती बालकुमारी घर्तीलाई भरुवा बन्दुकले हानेका हुन् । बन्दुकको छर्रा लागेर श्रीमती बालकुमारी घाइते भएकी छिन् । कम्मरको भागमा छर्रा लागेर घाइते भएकी उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएपी) चिरञ्जिवी कोईरालले जानकारी दिए ।
घाइते बालकुमारीका अनुसार विहिबार मापक पदार्थ सेवन गरी घरमा आएका चन्द्रबहादुरले तरकारी ढिलो पकाएको भन्दै झगडा निकाले पछि भनाभन भएको थियो । भनाभनकै क्रममा उत्तेजनामा आएर बन्दुक प्रहार गरेको उनले प्रहरीसँग बयान दिएकी छन्।
प्रहरीले बन्दुक नियन्त्रणमा लिएको छ भने बन्दुक प्रहार गर्ने चन्द्रबहादुर फरार रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४