काठमाडौं- राजधानीबाट प्रकाशित शनिबारका राष्ट्रिय दैनिक अखबारहरुले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टिसहितका विविध विषयलाई प्राथमिकतामा पारेका छन् ।
नागरिक दैनिकले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाः लापरबाहीले लियो ज्यान शीर्षकमा मुख्य समाचार छापेको छ भने अधिकारीसहित ६ को अन्त्येष्टि उपशीर्षक दिएर अर्को खबर लेखेको छ । नागरिकले पाकिस्तानले नियन्त्रणमा लिएको भारतीय पाइलटलाई छाडिदिएको विषयलाई एङ्कर न्यूज बनाएको छ।
दार्चुलामा भएको जिप दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएको विषयलाई एङ्कर न्यूज बनाएको आजको अन्नपूर्ण पोस्ट्ले अधिकारीको अन्त्येष्टिमा मानवसागर शीर्षकमा मुख्य समाचार छापेको छ । उसले प्रधानमन्त्री केपीशर्मा ओलीले वाइडबडी प्रकरणमा मन्त्री अधिकारी निर्दोष रहेको भनि दिएको अभिब्यक्तिलाई पनि महत्वका साथ छापेको छ ।
आजको कान्तिपुर दैनिकले भने मन्त्री अधिकारीको अन्त्येष्टिको तस्विरलाई प्राथमिकताका साथ छापेको छ भने समाचार १३ औं पृष्ठमा लेखेको छ । उसले संविधानमागि प्रजिअ शीर्षकको खबरलाई मुख्य समाचार बनाएको छ ।
संविधानमा नेपाली आमाबाट जन्मेर नेपालमै बसोबास गरेको व्यक्तिलाई बाबु पहिचान हुन नसके पनि वंशज नागरिकता दिने उल्लेख छ । व्यवहारमा भने पीडितहरुले अदालतको ढोका ढकढक्याउँदा पनि नेपाली नागरिक हुनुको निस्सा पाउन सकेका छैनन् । यसको मुख्य कारण प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को अटेरिपना नै हो । उनीहरु संविधानभन्दा माथि भए जसरी प्रस्तुत हुँदा धेरै ब्यक्ति नागरिकता बिहिन भएको समाचारमा उल्लेख छ ।
आजको नयाँ पत्रिकाले भने स्वरुप फेर्दै सिंहदरवार शीर्षकमा मुख्य समाचार छापेको छ । उसले सिंहदरवारको इतिहासदेखि अहिले नयाँ बनाउन भइराखेको तयारीसम्मको विषयलाई समाचारमा समेटेको छ । सिंहदरवारबाट पुराना सवारीसाधन हटाउने, जताततै बगैँचा बनाउने, सबै तार भूमिगत बनाउने, सबै भवन र सडक चम्काउने तयारी भइराखेको छ ।
दार्चुलामा भएको दुर्घटना र ललितपुरको गोदामचौरमा ढुंगाले हानेर अर्धचेत पारी युवती बलात्कार गर्ने ३ अभियुक्तलाई १० वर्ष जेल सजाए सुनाइएको खबरलाई पनि महत्वका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४