दार्चुला- दार्चुला सदरमुकाम नजिक शुक्रबार बेलुका भएको जीप दुर्घटना परि ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । जिल्ला सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका–२ को हिकिलातर्फ गइरहेको म १ ज २८० नम्बरको जीप दुहु–३ राताकाठा नजिक भीरमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
सदरमुकामबाट करिव ८ किलोमिटरको दुरीमा बेलुकी करिव सवा ८ बजेतिर खसेको जिपमा सवारमध्ये ११ जनाको मृत्यु भएको र चालक दिपकसिंह धामी गम्भीर घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक दीपकसिंह धामीबाहेक सबै यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार ७ महिला, ३ पुरुष र एकजना नाबालक रहेका छन् । मृतक कसैको पनि सनाखत भएको छैन ।
प्रत्यक्षदर्शीका अनुसार जिप सडकबाट झन्डै तीन सय मिटर भीरमा गुल्टिँदै महाकाली किनारमा पुगेको थियो । दुर्घटनास्थल सदरमुकाम खलंगाबाट सात किमि दूरीमा छ । उकालोमा जिपको पछाडितिरको भाग सडकबाहिर गएपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४