धनगढी – सुदूरपश्चिम प्रदेश सरकारकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई दिपायलमा कालोझण्डा देखाइएको छ। सुदूरपश्चिमको राजधानी दिपायल नबनाएको भन्दै आक्रोसित स्थानीयले कालोझण्डा देखाएका हुन्।
डोटी चेम्बर अफ कमर्शद्वारा दिपायलमा शुक्रबारबाट सुरू भएको प्रादेशिक महोत्सवको उद्घाटन गर्न पुगेकी मन्त्री भट्टलाई महोत्सवस्थलमै कालोझण्डा देखाइएको हो।
दिपायलमा प्रदेश राजधानी नबनाइएको भन्दै स्थानीय असन्तुष्ट बन्दै आएका छन्। राजधानी नबनाउन भूमिका खेलेका नेताहरू दिपायल पुग्दा स्थानीयबासीले कालोझण्डा देखाएर विरोध जनाउँदै आएका छन्। यसअघि प्रदेश सभा सदस्य अर्चना गहतराज, प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आलेमगर र पूर्वमन्त्री लेखराज भट्टलाई समेत कालोझण्डा देखाएइएको थियो।
‘हाम्रो आन्दोलन अझै रोकिएको छैन,’ नेविसंघ डोटीका अध्यक्ष गणेशबहादुर खड्काले भने, ‘दिपायल राजधानी बनाउन भूमिका नखेल्ने जोकोहीलाई दिपायल प्रवेश गर्न दिँदैनौ।’उनले दिपायलमा राजधानी बनाउन नदिने नेता र उनीहरुलाई कार्यक्रममा बोलायर स्थान दिने सबै दिपायल राजधानी विरोधी भएको आरोप लगाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४