पोखरा – हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको पोखरामा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिँदै छ। अधिकारीको पोखराको रामघाटमा अन्त्यष्टि गरिँदै छ।
प्रदर्शनी केन्द्रबाट रामघाटका पुगेको शव यात्रामा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका केन्द्रीय सदस्य योगेश भट्टराईलगायत पार्टीका हजारौँ कार्यकर्ताका साथै सर्वसाधारणको सहभागिता थियो।
शव यात्रामा नेपाली सेनाको एक टुकडीले शोकधुन बजाएको छ। सडकको दुवै पेटीमा उभिएका सर्वसाधारणले मन्त्री अधिकारीको शवमाथि पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन्। शव यात्राका सहभागीले पार्टीको झुकाइएको झण्डा बोकेका छन्। आफ्ना प्रिय नेतालाई गुमाएको पीडाले सबैको अनुहार निराश र भावविव्हल देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४