जनकपुरधाम - दुई साताअघि धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा ११ वर्षीया रेशमा भनिने दुतीया रसाइलीको शव फेला पर्यो। उमेरले अबोध रेशमाको बलात्कारपछि हत्या भएको थियो। आफन्तको बिहेमा रमाउँदै नाचिरहेकी रेशमामाथि धनुषा बटेश्वर–४ काकाको घरमा बस्दै आइरहेकी २२ वर्षीय निरज जर्घामगरको पापी दृष्टि पर्यो। रेशमालाई फकाइफुसलाई बस्ती बाहिर लगेर उसले बलात्कार पर्यो। प्रहरीले अनुसन्धानपछि निरज पक्राउ परेको छ।
बलात्कारपछि रेशमा हत्या घटनाको केही दिन नबित्दै जनकपुरधाम–१२ मा एक बालिकालाई बलात्कार गर्ने प्रयास गरिरहेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परे। १० वर्षीय बालिकालाई बलात्कार गर्ने प्रयास गरिरहेको देखेपछि स्थानीयले प्रहरीले खबर पर्यो र प्रहरीले भारत मोतीहारी बस्ने ५० वर्षीय सञ्जय ठाकुरलाई नियन्त्रणमा लियो।
स्थानीयवासीको सहयोगले जनकपुरकी ती बालिका बलात्कारबाट जोगिए पनि त्यसको केही दिनपछि सप्तरीमा एक ३० वर्षीया महिला र २० वर्षीया युवती बलात्कृत भइन्। दुवै घटनामा तीनजना आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
माथि उल्लेख गरिएका बलात्कारसम्बन्धी घटनाका केही प्रतिनिधि उदहारणहरु मात्र हुन्। पछिल्लो एक वर्षको तथ्यांक हेर्ने हो भने प्रदेश २ मा बलात्कार र बलात्कारको प्रयाससम्बन्धी घटनाहरु बढ्दै गएको छ। कतिपय बलात्कारका घटनाहरु गाउँ छिमेकमै बसेर मिलाउने परिपाटीका साथै बलात्कार गरेको ठहरिएपनि कडा कानुन नहुँदा यस्ता अपाराधिक प्रवृत्ति बोकेकाहरुको मनोबल बढ्दै गएको महिला अधिकारकर्मीहरु बताउँछन्।
‘ग्रामीण भेगहरुमा चेली बलात्कृत भएको थाह पाएपनि छरछिमेकमै पञ्चायत गरेर मिलाउने काम रुकेको छैन। गाउँका ठुलाबडा तथा राजनीतिकर्मीहरुको पहलमा घटना छामछुम पारिने गरिन्छ,’ राजपाकी नेतृ सरिता शर्मा भन्छिन्,‘कानुनी प्रक्रियामा नगएर पैसा लेनदेन गरी घटना मिलाउने परिपाटीले पनि अपराधीहरुको मनोबल बढेको छ।’
लागुऔषधको दुव्र्यसनीमा लागेर बरालिएका कारण बलात्कारका घटनाहरु बढ्दै गएको महिला अधिकारकर्मी उर्मीला यादवको बुझाइ छ। यादवले लागुऔषध तथा मदिाराजन्य पदार्थ सेवन गरेका युवाहरु यस्ता बलात्कारका घटनाहरुमा संलग्न देखिएकोले परिवारका सदस्यहरुले निगरानी बढाउनुपर्नेमा जोड दिइन्।
‘वैदेशिक रोजगारका कारण आर्थिक उत्रति त भएको छ,’ यादव भन्छिन्,‘घरको आर्थिक अवस्था राम्रो भएपनि युवाहरुमाथि निगरानी राख्ने अभिभावक वैदेशिक रोजगारमा भएकाले विकृतिहरु बढ्दै गएको छ।’ केटी मान्छेको लुगा पहिरनभन्दा पनि दृष्टिकोण र सोच परिवर्तन हुनुपर्ने उनको भनाइ छ।
‘६० वर्षका वृद्धले सानो बालिकालाई बलात्कार गरेको घटनाहरु सार्वजनिक भइरहेका छन्,’ उनले भनिन्,‘सानो बालिकाको पहिरनमा के नै गलत हुन्छ। मानिसको सोच परिवर्तन हुनु जरुरी छ।’ बलात्कारसम्बन्धी घटना रोक्न कानुन बनाइएपनि पूर्ण रुपमा कार्यान्वयन नहुँदासमेत घटनाहरु बढ्दै गएको उनको बुझाइ छ। अहिले भएकै कानुनपनि कडाइका साथ पालन हुने हो भने ८० प्रतिशत घटना आफै रुक्ने अधिकारकर्मी यादवको तर्क छ।
प्रदेश २ मा चालु आर्थिक वर्षको पुष मसान्तसम्म १ सय ३६ बलात्कारका घटना भएका छन् भने पुषयता १ सय ९३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापाका अनुसार आरोपीहरु मध्ये भण्डै ८९ जना अझै फरार छन्।
प्रदेश प्रहरीको तथ्यांकअनुसार १० वर्षदेखि १६ वर्षकी बालिका सबैभन्दा बढी बलात्कृत भएकी छिन्। बलात्कारसम्बन्धी घटनामा ६० प्रतिशत साना बालिका पीडित हुने गरेको तथा अधिकांश बलात्कारको घटना चिनजानकै व्यक्तिबाट हुने गरेको प्रहरीको भनाइ छ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुषसम्म १० वर्ष मुनिका १५, १० देखि १६ वर्षसम्मका ६१ र १६ वर्ष माथिका ६० जना बलात्कारको घटनामा पीडित भएकी छिन्। यसैगरी यी घटनाहरुमा पीडकहरु मध्ये २ जना आफन्त, १६३ चिजजान र २८ जना अपरिचित व्यक्ति पाइएको तथ्यांकमा उल्लेख छ।
यसैगरी चालु आर्थिक वर्षको पुषसम्म ६८ बलात्कारको प्रयाससम्बन्धी घटनामा ७६ जना आरोपी देखिएको प्रहरीले जनाएको छ। उक्त घटनाका पीडकहरु ५ वर्ष उमेर देखि ३० वर्षसम्मको रहेको प्रहरीको तथ्यांकले देखाउँछ।
आजिवन करावासको कानुन ल्याउने तयारी
प्रदेशमा बलात्कारसम्बन्धी घटनाहरु बढ्दै गएपछि प्रदेश २ सरकारले कडा कानुन ल्याउने तयारी गरेको छ। बलात्कारसम्बन्धी अपराध प्रमाणित भए दोषीलाई आजिवन कारावास हुनेगरी कानुन निर्माण गर्ने तयारी प्रदेश सरकारले गर्दैछ। प्रदेश २ का मुख्य न्यायाधिवक्त दीपेन्द्र झाले निरन्तर बढ्दै गइरेहो बलात्कारका घटना रोक्न दोषीलाई आजिवन कारावास हुने गरी कानुन ल्याउने तयारी भइरहेको जनाए। बलात्कारजस्तो दुष्कर्म गर्नेलाई कडा कारबाही होस आफूहरुको चाहना रहेको भन्दै झाले सरकारले चाँडै यस्तो कानुन ल्याउने बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४