धनगढी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि आफूले निरन्तर खबरदारी गरिरहेको बताएका छन्। १३ वर्षीया बालिका निर्मला पन्तको परिवारलाई भेट्न शुक्रबार उनको घरमा पुगेका देउवाले उक्त कुरा बताएका हुन्।
निर्मलाको न्यायका लागि आफू र आफ्नो पार्टीले निरन्तर खबरदारी गरिरहेको उनले बताएका थिए। पन्त परिवारलार्इ भेट्न देउवा भीमदत्त नगरपालिकास्थित पन्त निवासमा पुगेका हुन्। उनले निर्मलाको आमा दुर्गादेबि पन्तलाई भेटेका थिए।
‘ढिलो चाँडो हत्यारा पत्ता लाग्छ, कांग्रेसले पहल गरिरहेको छ,’ दुर्गादेवीसँगको भेटमा देउवाले भने, ‘बलात्कारपछि हत्या जस्तो जघन्य अपराधका दोषीलाई छाड्ने कुरै हुँदैन।’ उनले हत्यारा पत्ता लाग्ने कुरामा ढुक्क हुन समेत आग्रह गरेका थिए।
दुर्गादेवीले घटना भएको ७ महिना पूरा हुँदा पनि हत्यारा पत्ता नलागेकाले सहयोग गर्न आग्रह गरेकी थिइन्।
निर्मलाका बुबा र कान्छि आमा भने उपचारका लागि काठमाडौंमा छन्। साउन १० गते बलात्कार पछि हत्या गरिएकी निर्मलाको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४