शनिबार, साउन १६, २०८३

आधा झुकेको झन्डामुनि रवीन्द्रको ठाडो शिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

तस्बिर : रासस

सेती नदीमा शुक्रबार मानिसको भीड थियो। त्यो भीड कुनै उत्सवको थिएन। एउटा शोकमा डुबेको जमात थियो। रवीन्द्र अधिकारीको हाँसेको फोटोमुनि रोएका अनुहार छरपस्ट देखिन्थे। मानौं, देशका ठूला मान्छेहरुको खुसी कसैले लुटेको छ। हो, रवीन्द्रको निधनमा सबै नेपालीको खुसी लुटिएको छ। यति मात्रै होइन, माछापुच्छ्रे पनि टोलाइरहेको छ यतिबेला।

उनको सटले चिनिएको लास। डढेको अनुहार। लासको पहिचान थिएन, थियो त केवल रवीन्द्र अधिकारीको। पोखरामा लस्करै उँधोमुन्टी पारिएका झन्डा थिए। लामबद्ध मानिसका बीच एउटा लास तन्किँदै थियो गाडीमाथि। त्यो निर्जीव थियो, लास नउठ्ने सबैलाई थाहा थियो। तर उनले ब्युँझाए पूरै नेपाल। सबैका आँखा रसिला थिए। हँसिला अनुहारमा कुन्नि कसले कालो छ्यापेको थियो? उनीहरू सोध्दै थिए– खै रवीन्द्र अधिकारी? कोहो कोही  उनले लेखेको ‘जोमसोमै बजारमा बाह्र बजे हावा सरर’ बोलको गीतको ‘जिन्दगी बगेको पानी हो, फेरि फर्की आउँदैन लै बरी लै बरी’ सम्झँदै थिए। तर उनले लेखेको गीतजस्तै उनी पोखराबासीमा मात्र हैन, सबैका लागि फर्केर आउँदैनन्। नियति यही भएको छ। जिन्दगी बगेर गयो रवीन्द्र, फेरि फर्केर आउँदैनौ लै बरी लै बरी !

काठमाडौंमा पोखिएको आँसुको छचल्को पोखरामा छहरा बन्यो। धेरै रोए। तर उनलाई बिर्सन सकेनन्। उनले लेखेको एउटा गीत हिट भयो, ‘घर हाम्रो पोखरा’ भन्ने कुरालाई सार्थकता दिँदै उनको पार्थिव शरीर सेती नदीको तीरमा राख्दा न ऐय्या भने न आत्था! उनी किनारमा सुस्ताइरहे। उनले न केपी ओली खोजे न वामदेव खोजे न विद्या भट्टराई खोजे, उनले त सुस्त निद्रा रोजे। त्यसैले अब उनी ब्युँझने छैनन्।

शुक्रबार पोखरामा अन्तिम बिदाइ गर्दा सबैका अनुहार औंसी थिए। तर उनी तस्बिरमा हाँसिरहेका थिए। लाग्छ उनको हाँसाले सबैको आँखामा आँसु तानिरहेको थियो। त्यसैले त देशभरि उनको निधनमा आँसुको भेल बगेको थियो। भविष्यको जल्दो नेता थिए उनी। उनले देश हाँक्छन् भन्ने धेरैको आसा थियो। उनले राजनीतिक उडान लामो दुरीको खोजेका थिए। तर काठमाडौंबाट करिब तीन सय किलोमिटरमा उनको सपना बज्रियो, जब हेलिकप्टर पाथीभराको डाँडामा ठोक्कियो।

२० वर्षअघि एउटा आसलाग्दो केटो रातोघरमा मौजुद थियो। ऊ कोषाध्यक्ष थियो अखिलको। यसो हेर्दा लाग्थ्यो, यो झ्याम्टे कपालवाला केटोले कसरी कोष व्यवस्थित गर्ला? तर इतिहासले प्रमाणित गर्‍यो रवीन्द्र अधिकारी आफ्नो कार्यकालमा सफल भएरै छाडे। उनले हार्न जानेकै रहेनछ। त्यसपछि उनी सचिवमा चुनाव लडे, जिते। इतिहास साक्षी छ कोषाध्यक्ष हुने व्यक्ति पदोन्नति हुँदैन। एउटै कारण छ भ्रष्टाचार। तर रवीन्द्रले यो नियति जीवनमा भोगेनन्, उचाइ प्राप्त गर्दै अध्यक्षसम्म पुगे। त्यतिमा मात्र उनी अडिएनन् पटकपटक चुनाव जितेर मन्त्रीसम्म भए। विद्यार्थी राजनीतिबाट उदाएका रवीन्द्र अधिकारी पछिल्लो पुस्ताका आसालाग्दा युवा नेता बन्न सफल भए।

रवीन्द्र अधिकारी पछिल्लोपल्ट वाइड बडी काण्डमा विवादमा तानिएका थिए। तर नेपाली समाज यति दयालु छ कि त्यसलाई चटक्क बिर्सिएको छ। जुन दिन उनले चढेको हेलिकप्टर पाथीभरामा झर्‍यो, त्यही दिनदेखि उनको वाइड बडी पनि त्यही ठाउँमा झरेको छ। अब उनी वाइड बडीका अभियुक्त होइनन्, नेपाली जनताका आँखामा सधैँ रहिरहने नानी बन्नेछन्। जिन्दगीमा रुपान्तरण यसरी हुन्छ भन्ने उनी एउटा उदाहरण हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।