काठमाडौं- आज फागुन १६ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापा पुगेर शक्ति प्रदर्शन गरेको छ। झापामा आयोजित शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा हिन्दु राष्ट्र र राजसंस्था गुमाउनु परेको भन्दै दुःख ब्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी कुनै पनि दृष्टिकोणले गोदावरी उपयुक्त नभएको दोहो¥याएका छन्। नेपाल प्रेस युनियन कैलालीले बिहीबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दैमा राजधानी गोदावरीको तेघरीमा उपयुक्त नहुने बताएका हुन्।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सेनाले हवाई कारबाहीपछि आफ्नो कब्जामा लिएका भारतीय लडाकु विमानका पाइलटलाई फिर्ता गरिने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो।
दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायतको शव भोलि बिहानमात्र अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने भएको छ। पोस्टमार्टम गर्न समय लाग्ने भएपछि श्रद्धाञ्जलिको समय भोलि बिहानका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। अधिकारीलगायतको शव बिहान ८ देखि १० बजेसम्म टुँडिखेलमा राखिनेछ। अहिले मृतक सातैजनाको शवको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमा भइरहेको छ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताएका छन्।
अमेरिका–उत्तर कोरियाबीच भएको दोस्रोपटकको वार्ता बिना निष्कर्ष टुंगिएको छ। कोरियाली प्रायद्विपलाई आणविक हतियाररहित बनाउने प्रयास स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको राजधानी हनोईमा बिहीबार भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो। दुई नेताबीच गत जुन १९ मा सिंगापुरमा वार्ता भएको थियो।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका– १ सुख्खडमा टिप्परको ठक्करबाट छ वर्षीय बालकको ज्यान गएको छ।
मौसममा सुधार आएपछि हेलिकप्टर दुर्घटनाका मृतकहरुको शव लिएर नेपाली सेनाको हेलिकप्टर भर्खरै काठमाडौं आइपुगेको छ। बुधवार मध्याह्न ताप्लेजुङको पाथीभरा मन्दिर नजिकै भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।
हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनकै गृह जिल्ला कास्कीमा हुनेभएको छ ।
काठमडौं उपत्यकाका विभिन्न क्षेत्रमा हिमपात भएको छ। बुधबार दिउँसोदेखि भएको वर्षासँगै बिहीबार बिहान हिमपात भएको हो ।
“अन्धकार भिरमा आगो बालेर बसिरहेका छौँ, तीन वटा शव रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना, न राम्रोसँग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरिहालियो भने एकै पटक तल पुगिन्छ,” हेलिकप्टर दुर्घटनास्थल ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मयामको तारेढुङ्गाबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले भने ।
रियल मड्रिडलाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस कोपा डेल’रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति रियलकै घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा रियललाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना कोपा डेल’रेको फाइनलमा प्रवेश गरेको हो ।
नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ ल्याउँदैछ ।
सरकारले छ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ।
‘मिसेस नेपाल ग्ल्याम २०१९’को दोस्रो अडिसन सुरु भएको छ। आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बुधबार विज्ञप्ति जारी गरी ‘मिसेस नेपाल ग्ल्याम २०१९’को आवेदन खुला भएको जनाएको हो ।
पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा रहेकी गायिका शुशिला पाठकले आफ्नो जन्मदिनको अवसरमा एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। उनले ‘यो केटीले मुस्काएर देशै खाने भई’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।
फेसन डिजाइनर कार्ल लेगरफेल्डको मृत्युपछि उनको बिरालोे करोडौको मालिक बनेको छ। लेगरफेल्डको मृत्युसँग उनको विरालो १३८५ (१९.५ करोड डलर)को मालिक बनेको हो।
नेपाली फुटबल विकासका लागि चाईनिज फुटबल संघले सहयोग गर्ने भएको छ । नेपाली फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र चाईनिज फुटबल संघबीच बिहिबार सम्झौता भएको हो ।
नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोट चरण पार गर्न नसकेन्। सात देश सहभागी रहेको प्रतियोगितामा थाइल्याण्डले पहिलो हुँदै आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्यो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४