झापा – मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापा पुगेर शक्ति प्रदर्शन गरेको छ। झापामा आयोजित शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा हिन्दु राष्ट्र र राजसंस्था गुमाउनु परेको भन्दै दुःख ब्यक्त गरेका छन्।
देशमा फेरि विद्रोहको आवाज उठ्न थालेको भन्दै नेता थापाले आफूहरुलाई उक्त कुरा स्विकार्य नहुने बताए। ‘राजसंस्था र हिन्दु राष्ट्र फालेर देशले के पायो? जनताले के पाए? उनले प्रश्न गरे, ‘परिवर्तनले जनतालाई केही दिन सकेन। अब यसमा पुनर्विचार गर्दै नयाँ सिराबाट बहस् गर्ने बेला आएको छ।’
‘राणाहरु आए गए, पञ्चायत आयो गयो, बहुदल आयो गयो, विगतका कुनै कालखण्डमा पनि राष्ट्र विखण्डनको आवाज कहिल्यै उठेन’, उनले भने, ‘यतिवेला देशमा विखण्डनको आवाज किन उठिरहेको छ।' म प्रश्न गर्न चाहन्छु, 'दुई तिहाइको सरकारका प्रधानमन्त्री यति लाचार किन। तपाइसँग मैले विगतमा सँगै काम गरेको छु, यस्तो निरीह त हुनुहुन्थेन, अहिले कुन शक्तिले तपाइलाई रोकिरहेको छ।’
०६२/६३ को परिवर्तन पछि जबर्जस्ती धर्म परिवर्तन गराइएको बताउँदै थापाले त्यसको मारमा हिन्दु, बौद्ध, किराँत समुदायका मान्छे परेको बताए। धर्म परिवर्तनको लहड् नरोकिए हिन्दु, बौद्धिष्ट र किराँत धर्मावलम्बिहरु अल्पमतमा पर्ने उनको धारणा छ।
नेता थापाले संघीयतालाई मुलुकले थेग्न नसक्ने देखिएको टिप्पणी गरेका छन्। ‘संघीयता बारे जनमत संग्रह गरिनुपर्छ,’ उनले भने, ‘दोहोरो तेहोरो करको मारमा जनतालाई पार्नुहुँदैन।
बुधबार ताप्लेजुङबाट सुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको दोश्रो दिन बिहीबार यात्रा झापा आइपुगेको हो। सभामा राप्रपाका वरिष्ठ नेता दिपक बोहरा, नेताहरू बुद्धिमान तामाङ, राजीब पराजुली, टंक ढकाल, राजेन्द्र लिङ्देन, राम थापालगायतले अभियानको उद्देश्य, औचित्यका बारे धारणा राखेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४