बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बोरिङ खन्दा चारतले घर जति अग्लो फोहोरा निस्किएपछि‍‍‍...

बोरिङ खन्दा चारतले घर जति अग्लो फोहोरा निस्किएपछि‍‍‍...

पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा बुधबार एक्कासि बालुवासहित पानीको फोहोरा निस्किएको छ।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं– पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा बुधबार एक्कासि बालुवासहित पानीको फोहोरा निस्किएको छ। तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा कपन शिवमन्दिर नजिक निरन्तर छ।

भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन्। फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए। सूचनापछि घटनास्थल निरीक्षणमा पुगेका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिए।

‘काठमाडौं उपत्यकाको जमिनमुनि मिथेन ग्यास छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो’, श्रेष्ठले भने। 

त्रसित स्थानीयवासीको प्रतिक्रियामा उनले ग्यास बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताए। कति सययसम्म यो जारी रहन्छ भन्ने प्रश्नमा भूगर्भविद् श्रेष्ठले यो प्राकृतिक घटना कतिसम्म जारी रहन्छ भन्ने आँकलन गर्न नसकिने बताए।

घर नजिकै यस्तो अनौठो घटना भएको देख्दा स्थानीयवासी बद्री ढकालले आफूलाई कतै जमिन नै भासिने पो हो कि भने डर लागेको बताए। ‘सुरुमा लेदो निस्किए पनि अहिले ग्यास गन्हाएको र पानीसहित बालुवा फोहोरा भएर भुल्किरहेको छ’, उनले भने। करिब एक सय ५० फिट गहिरो खन्दा यस्तो घटना भएको उनको भनाइ छ। 

फोहोराका कारण नजिकैको घर हिलाम्मे भएको छ। अनौठो फोहोरा हेर्न मानिसको भीड बढ्दै गएपछि यतिखेर प्रहरीले भीडभाड नगर्न माइकिङ गरिरहेको छ। कपन प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भूगर्भविद्को सल्लाहअनुसार घटनाको दुई सय मिटर वरपर घरमा ग्यास, लाइटर नबाल्न सचेत गराइएको जानकारी दिइन्। साथै कपन पञ्चकुमारीदेखि शिवमन्दिर जाने बाटोमा ट्राफिक डाइभर्सन गराइने उनले जानकारी दिइन्। -रासस

प्रकाशित: Aug 18, 2021| 15:05 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।